काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी तथा पूर्वकप्तान रोहितकुमार पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएपछि अभिनेत्री तथा मोडल सिम्रन खड्का यतिबेला चर्चाको केन्द्रमा छिन्। विवाहको खबर सार्वजनिक भएसँगै दर्शक तथा समर्थकहरूले उनको व्यक्तिगत परिचय, पृष्ठभूमि र अभिनय यात्राबारे व्यापक चासो देखाएका छन्।
सिम्रनको कला र सौन्दर्य क्षेत्रको यात्रा सानै उमेरदेखि सुरु भएको हो। उनी सन् २०१२ मा सम्पन्न ‘मिस लिटल आइडल’ (Miss Little Idol) प्रतियोगितामा दोस्रो रनरअप बन्न सफल भएकी थिइन्।
म्युजिक भिडियोदेखि ठुलो पर्दासम्मको अभिनय यात्रा बाल्यकालदेखि नै अभिनयप्रति गहिरो रुचि राख्ने सिम्रनले औपचारिक रूपमा अभिनयसम्बन्धी प्रशिक्षणसमेत लिएकी छन्। उनको कलात्मक यात्रा म्युजिक भिडियोको मोडलिङबाट सुरु भएको थियो। म्युजिक भिडियोमा रुचाइएपछि उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै आफ्नो अभिनय प्रतिभा प्रस्तुत गर्न थालेकी हुन्।
सिम्रनले हालसम्म ‘प्रेमगञ्ज’, ‘अगस्त्य’, ‘चित्रा’, ‘बेहुली फ्रम मेघौली’ र ‘गौंथली’ लगायतका चर्चित नेपाली चलचित्रहरूमा अभिनय गरिसकेकी छन्। चलचित्र तथा मोडलिङ क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउँदै आएकी सिम्रन अब नेपाली क्रिकेटका स्टार खेलाडी रोहित पौडेलसँग जीवनको नयाँ अध्याय सुरु गर्दै वैवाहिक जीवनमा जोडिएकी छन्।