×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनाङ्गेसहित ३१ सांसदद्वारा कृष्णचन्द्रलाई मुख्यमन्त्री बनाउन दाबी पेश

मनाङ्गेसहित ३१ सांसदद्वारा कृष्णचन्द्रलाई मुख्यमन्त्री बनाउन दाबी पेश

गण्डकी प्रदेशका विपक्षी दलका सांसदहरू नयाँ सरकार दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन् । स्वतन्त्र सांसद राजीव गुरुङ {दीपक मनाङ्गे} सहितको समर्थनमा ३१ सांसदहरु प्रमुख पौडेल कहाँ पुगेका हुन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद मनाङ्गेसहित ३१ सांसदहरुले गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । यसअघि बिहीबार तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा मतदान गर्दा नै विपक्षी दलहरुसँग ३० सांसद थिए । त्यसमा मनाङ्गेले साथ दिँदा नयाँ सरकार बन्ने पक्का भएको हो । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ । जहाँ, पोखरेलसँग ३१ सांसद छन् । बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री गुरुङले २७ मत प्राप्त गरेका थिए ।

को हुन् कृष्णचन्द्र ?
७१ वर्षीय नेता कृष्णचन्द्र नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । कृष्णचन्द्र राजनीतिक पृष्ठभूमिकै परिवारमा जन्मेर हुर्किएका हुन् । उनका बुबा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् । गोवर्द्धन शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि थिए । उनकी आमा द्रौपदा शर्मा हुन् । कृष्णचन्द्र २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् ।

२०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका कृष्णचन्द्र आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका थिए । त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए । २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका कृष्णचन्द्रले दुई विषयमा स्नातक गरेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।

प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयबाट पूरा गरेका उनी माध्यमिक शिक्षा पढ्न भारत पुगे । उनले माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका थिए । दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए । पछि कानुनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका हुन् ।

२०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुईपटक गरेर पाँच महिना बस्नुपर्यो । त्यसअघि २०३७ सालको जनमतसंग्रहका क्रममा ८ महिना कास्की कारागारमै बसे । २०३८ सालको निर्वाचनको क्रममा प्रहरीबाट यातनासँगै दुई महिना जेल चलान भए । देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्यो । नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर एक वर्ष जेल चलान भए ।

२०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि परे । नौ महिना पाल्पा जेल बसे । २०४८ को अधिवेशनपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए । अब अहिले ७१ वर्षको उमेरमा राजनीति गरेको करिब ५० वर्षपछि उनी मुख्यमन्त्री बन्दैछन् ।

प्रतिकृया दिनुहोस्