सप्तरी - कोरोना संक्रमण बढ्न नदिनका लागि विद्यालयहरु बन्द गर्ने सरकारले गरेको निर्णय अवज्ञा गर्ने सप्तरीका जिल्लाका विद्यालय संचालक तथा प्रिन्सिपलहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारी निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेका ८ वटा निजी विद्यालयका ११ जनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए ।
नेपाल सरकारको निर्णय कार्यान्वयन गराउने क्रममा सोमबार अनुगमनको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक धमलाले बताए ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाको राजबिराज नगरपालिका वडा न. ८ घर भई लक्ष्मी ईंगलिस बोर्डिङ्ग स्कुलका सञ्चालक राजेश कुमार यादव, बैधनाथ कुमार झा, बुलन्द साह रहेका छन् ।
त्यस्तै ह्यापी ल्याण्ड मा. वि.का संचालक शैलेन्द्र कुमार ठाकुर, जानकी सेकेन्ड्र स्कुलका शिक्षक हरी किसुन राम, एन्जल बोर्डिङ्ग स्कुलका संचालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका संचालक उमाकान्त साह, सृजना सेकेन्ड्र बोर्डिङ स्कुलका शिक्षक रिमा झा,लिटिल फ्लावर सेकेन्डरी स्कुलका संचालक डा.कामन्त देव, ग्रिन ईंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक मनोज यादव र सिपस बोडिङ स्कुलका संचालक नरेश साह रहेको प्रहरी उपरीक्षक धमलाले बताए ।
पक्राउ परेका सबैजना अहिले प्रहरी हिरासतमा रहेका छन् । उनीहरुलाई कारवाही गर्ने वा चेतावनी दिएर पहिलो पटक छाड्ने सम्बन्धमा निर्णय आजै गरिने प्रहरी उपरीक्षक धमलाले बताए ।