काठमाडौं- लगानीकर्ताहरूमा देखिएको तीव्र 'आत्तिने' प्रवृत्ति (प्यानिक सेलिङ) का कारण बिहीबार सेयर बजारमा केही मिनेटभित्रै दोस्रो पटक सर्किट ब्रेक लागेको छ। सेयर कारोबार खुलेको तीन मिनेट पनि नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो।
२० मिनेटको लागि कारोबार स्थगित भएर पुनः खुलेको एक मिनेट नबित्दै बजार थप १ प्रतिशतले ओरालो लाग्यो। यसरी कुल ५ प्रतिशतले परिसूचक घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो। यो समाचार तयार पार्दासम्म नेप्से १३३ अंक अर्थात ५ प्रतिशतले घटेर २५३८ विन्दुमा आइपुगेको छ। यस अवधिमा २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
के भन्छ बजार स्थगनको नियम?
सेयर बजारमा पहिलो एक घण्टाभित्र ४ प्रतिशतले घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगन हुन्छ। त्यस्तै, पहिलो दुई घण्टाभित्र ५ प्रतिशतले घटबढ भएमा ४० मिनेटका लागि र तीन घण्टाभित्र ६ प्रतिशतले घटबढ भएमा सो दिनभरका लागि कारोबार स्थगन हुने नियम रहेको छ।
क्षतिको आकलन र बीमा कम्पनीमा दबाब
गत भदौ २३ र २४ गते भएको प्रदर्शन (आन्दोलन) का कारण पुगेको क्षतिले बैंक तथा वित्तीय संस्था र विशेषगरी बीमा कम्पनीहरूमा ठूलो भार पर्न सक्ने आकलन गरिँदै आएको छ।
बुधबारसम्म बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पेस गरेको तथ्यांक अनुसार करिब २० अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। सामान्यतया, बीमा कम्पनीहरूले औसतमा बीमाको ३० देखि ३५ प्रतिशतसम्म मात्रै भार आफै राख्छन्। बाँकी भार नेपाली पुनर्बीमा (Re-insurance) कम्पनीहरूलाई सार्छन्।
अहिले नेपालमा नेपाल पुनर्बीमा कम्पनी (Nepal Reinsurance Company) र हिमालयन रि इन्सुरेन्स (Himalayan Reinsurance) गरी दुईवटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा छन्। यी कम्पनीहरूले पनि दाबीको केही भार आफै लिन्छन् भने बाँकी विदेशी पुनर्बीमा कम्पनीहरूमा सारेका हुन्छन्।
यद्यपि, यी कम्पनीहरूले दाबीभार विदेशी बीमा कम्पनीमा कति सारेका छन् भन्ने यकिन जानकारी बीमा प्राधिकरणसँग छैन। तैपनि, अहिले विभिन्न प्रदर्शनका कारण पर्ने बीमा दाबी भुक्तानी गर्न कम्पनीहरू सक्षम रहेको बीमा प्राधिकरणले जनाएको छ।
यही कारणले गर्दा बिहीबार हिमालयन रि इन्सुरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर ८७८ रुपैयाँमा कारोबार भएको हो। यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले घटेर सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर मूल्य १४६८ रुपैयाँमा कारोबार भएको छ।