काठमाडौँ, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आर्सनलमाथि ५-० को जीत हात पारेको छ । शनिबारको खेलमा घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई तथा कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।
खेलको सातौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएको खेलको १२ औं मिनेटमा टोरेसले गोल थपे । ३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित हुन पुग्यो ।
४३ औं मिनेटमा जेजुसले गोल गरेसँगै पहिलो हाफमा ३-० को अग्रता बनाएको सिटीका लागि ५३ औं मिनेटमा रोड्रीले गोल थपे र अग्रता ४-० मा पुर्याए । खेलको ८४ औं मिनेटमा टोरेसले अर्को गोल थप्दै टिमलाई ५-० को फराकिलो जित दिलाए ।
साबिक बिजेतासामु निरिह देखिएको आर्सनलले एक गोल पनि फर्काउन सकेन । जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ। सिटी अंक तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ। लगातार तेस्रो हार व्यहोरेको आर्सनल भने तालिकाको पुछारमा छ ।