काठमाडौं - कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका दुई वटा खच्चड मरेका छन् । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ खच्चड अड्किएकोमा ८ खच्चडको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धारका क्रममा एक खच्चड पुलमै मरिसकेको र अर्को जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले बताएको छ । जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन् । फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो ।
नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ । ती खच्चडहरूलाई नदीमा खसाल्न जोखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।