काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल ले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको नयाँ अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
अध्यादेश जारी भएसँगै लामो समयदेखि अल्झिएको भूमहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने र भूमि व्यवस्थापनमा देखिएका कानुनी जटिलताहरू फुक्ने भएका छन्। विशेषगरी वन र भूमिसम्बन्धी ऐनका परस्पर बाझिएका प्रावधानका कारण राष्ट्रिय भूमि आयोगले काम अघि बढाउन नसकेको अवस्थामा यो अध्यादेशले सुकुम्बासी समस्या समाधानमा महत्त्वपूर्ण बाटो खोलेको छ।