नेकपा (एमाले)मा पार्टी एकताको लागि भन्दै कार्यदलले तयार गरेको १० बुदे प्रस्ताव कार्यान्वयनमा संस्थापन तयार नभएको भन्दै तेश्रो धारका नेताहरुले चर्को असन्तुष्टि जनाउन थालेका छन् । उनीहरुको असन्तुष्टि पार्टीको बैठक नै बहिस्कार गर्ने अवस्थासम्म पुगेको हो ।
तेश्रो धारका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाइरहेका बेला केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन् ।
शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।
१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।
शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर, ओलीले आइतबार केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिरहेका बेला आइतबार विहानसम्म पनि स्थायी समिति नबोलाएपछि रावल बैठकमा अनुपस्थित भएका हुन् ।