एजेन्सी - स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्।
युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ।
रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो।
यसअघि उनी तीन वर्षअघि युभेन्ट्समा आबद्ध भएका थिए। उनी स्पेनिस फुटबल क्लब रियल म्याड्रिडबाट उनी ९९.२ मिलियन पाउन्डमा युभेन्ट्समा आबद्ध भएका थिए।
त्यतिबेला उनले चार वर्षका लागि सम्झौता गरेका थिए।
युभेन्ट्समा सन् २०१८ देखि ९८ खेल खेल्दा ८१ गोल गरेका थिए। तीन सिजनमा उनले दुई पटक इटालियन सिरि ए जिते।
रियल म्याड्रिडमा रोनाल्डोले ९ सिजन बिताएका थिए। त्यस क्रममा उनले रियललाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरेका थिए। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमान बनाएका थिए। ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। जसमा २ ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि समावेश छन्।
उनले रियलका लागि ४४ ह्याट्रिक गरे भने ला लिगामा ३४ ह्याट्रिक गरेका थिए। उनले सन् २०१४–१५ सिजनमा रियलका लागि ४८ खेल खेल्दै ६१ गोल गरेका थिए।
रियलमा सन् २००९ मा आबद्ध हुनुअघि उनले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए। सन् २००३ देखि युनाइटेडबाट खेल्दा उनले १९६ खेलमा ८४ गोल गरेका थिए।
उनले करिअरको सुरुवात पोर्चुगिज क्लब स्पोर्टिङबाट सन् २००२ मा गरेका थिए।
Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo
— Manchester United (@ManUtd) August 27, 2021