भक्तपुर - जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, गुठी संस्थान, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवाला सहभागी बैठकले निर्वाध जात्रा सम्पन्न गर्न विविध निर्णय गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभरि मदिरा बिक्री गर्ने पसल पूर्णरुपमा बन्द गराउने निर्णय भएको छ ।
जात्रा सञ्चालन हुने मुख्य सडक र चोकमा ‘सिसी क्यामरा’ जडान गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन्। जात्रा बिथोल्नेलाई कडा कारबाही हुने चेतावनी दिँदै उनले भनिन्,'हामीले गत वर्षको जात्रामा ढुङ्गा हान्दै गरेको भिडियो चोकचोकमा सार्वजनिक गरेका छौँ, जात्रा बिथोल्न खोज्ने भिडियोमा देखिन्छन्, यस वर्ष पनि भिडियो खिचेर सार्वजनिक गर्छौं ।'