काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी दुरुपयोग भएको प्रकरणमा सरकारको ध्यानाकर्षण भएको छ। मन्त्रालयको गाडी हराएर फेला परेको घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग, समिति तथा अन्य सरकारी निकायहरूलाई आफ्नो मातहतमा रहेका सवारी साधनको विवरण संकलन गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयले आइतबार गरेको परिपत्रमा भनिएको छ, ‘आफ्नो निकायको नाममा दर्ता रहेको तथा हस्तान्तरण भई प्रयोगमा रहेका सबै सवारी साधनहरूको विवरण (दुई पाङ्ग्रे वा चार पाङ्ग्रे) प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम र पदसहित तोकिएको ढाँचामा तयार गरी उपलब्ध गराउन अनुरोध गरिन्छ।’
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले जारी गरेको परिपत्रअनुसार सवारी साधनको प्रकार, नम्बर, प्रयोगकर्ताको नाम, पद र प्रयोगको अवस्था (स्थायित्व) जस्ता विवरण स्पष्ट खुलाएर पठाउनुपर्नेछ।
उक्त निर्देशनबारे राष्ट्रिय सतर्कता केन्द्रलाई समेत जानकारी गराइएको छ।