काठमाडौं - रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ ।
दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ ।
परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाका कम्म्प्युटर इन्जिनियर टेकबहादुर खडकाले आवेदन दिने अन्तिम म्यादको अघिल्लो दिनसम्म कृषि क्षेत्रतर्पm पाँच हजार पाँच सय र उत्पादनमूलक क्षेत्रमा १९ हजारको आवेदन परेको जानकारी दिए । शाखाले हालसम्म परेको आवेदनको आधारमा अन्तिम दिनसम्म ३० हजार पुने अनुमान गरेको छ ।
शाखाले चैत १४ देखि २१ गतेसम्म परीक्षाको अनलाइनमार्पmत आवेदन दिन सक्ने गरी सूचना जारी गरे पनि चैत १९ गतेसम्म २५ हजार पाँच सयले मात्र आवेदन दिएका छन् ।
सन २०१९ पछि दुई वर्ष रोकिएको भाषा परीक्षा सन २०२२ का लागि नौ हजार ६ सय ५४ जनालाई छनोट गर्ने योजनासहित वैशाखबाट परीक्षा सञ्चालन गर्न आवेदन माग गरिएको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार भाषा परीक्षा २६ वैशाखबाट २१ असोजसम्म चरणबद्ध रूपमा हुनेछ ।
कोरियाका रोजगारदाताले नेपाली श्रमिक रुचाएपछि नेपालबाट ठूलो संख्यामा युवा लैजाने गरी भाषा परीक्षाको तयारी गरिएको हो । शाखाले कोरिया र नेपाल सरकारबीच भएको श्रम समझदारी पत्र (एमओयू) अनुसार कोरियामा नेपाली युवालाई कामदारको रूपमा पठाउन पहिलो चरणको छनोटका लागि भाषा परीक्षा गर्न लागिएको जनाएको छ ।
कोरियाले कृषि तथा पशुपालन क्षेत्रमा दुई हजार ७ सय ४१ जना लैजाने भए पनि शनिबारसम्म सो क्षेत्रका लागि पाँच हजार पाँच सय युवाले आवेदन दिएका छन् ।
यसैगरी उत्पादनमूलक क्षेत्रमा ६ हजार ९ सय १३ नेपाली लैजाने गरी भाषा परीक्षा गर्न लागिए पनि १९ हजार पाँच सयले आवेदन दिएका छन् ।
विगत वर्षहरूमा माग गरिएको संख्याभन्दा १० गुणा बढी आवेदन पर्ने गरेको थियो । हाल कोरिया जाने योग्यसूची (रोस्टर) मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो ।
कोरियन भाषा परीक्षामा विगतमा नयाँका लागि पीबीटी (पेपर बेस टेस्ट) र कोरिया गएर फर्केकाका लागि सीबीटी (कम्प्युटर बेस टेस्ट) गरिँदै आएकोमा यो परीक्षा यूबीटी (युविक्युट्स बेस टेस्ट) प्रणालीबाट लिइने छ ।
यो प्रणालीमा प्रत्येक परीक्षार्थीलाई कम्प्युटरको सट्टा ट्याब्लेटबाट परीक्षा लिइने छ । भाषा परीक्षाका लागि परेको आवेदनको आधारमा एक सिफ्टमा दुई सय जनाका दरले दिनमा ३ वा ४ सिफ्ट परीक्षा सञ्चालन गरेर दिनमा अधिकतम आठ सय जनाले परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
शाखाले भैसेपाटीमा रहेको एचआरडी कोरिया भाषा केन्द्रलाई तयारी अवस्थामा राखेको छ । सन् २००८ देखि वर्षेनी सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो २ वर्ष कोरोना संक्रमणका कारण स्थगन गरिएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।