काठमाडौँ- दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। संविधान सभाको चुनाव भएकै थिएन। गणतन्त्र घोषणा गरेर मात्र चुनावमा जान पर्ने माग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दै थिए ।
उनका माग बदलिरहन्थे। खासमा त्यो बेला उनको दिमागबाट विद्रोह उत्रिएकै थिएन। त्यस्तो बेलामा प्रचण्डलाई सम्झाउने, फकाउने र कहिलेकाहीँ तर्साउने काम गृहमन्त्री कृष्ण सिटौलाको हुन्थ्यो। माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने र मुलुकलाई गणतन्त्रमा लैजाने प्रक्रियामा सिटौला कोइरालाका मुख्य सारथि थिए।
सिटौला लामो समयसम्म बालुवाटारमा प्रधानमन्त्री निवास नजिकैको एउटा घर भाडा लिएर बसेका थिए। त्यसले बालुवाटारको भेटघाट सजिलो पार्थ्यो। आउजाउको समय जोगाउँथ्यो।
सिटौला बसेको घरको पूर्वपट्टी सानो बरन्डा थियो। त्यहाँ टेबल र एक दुइटा कुर्सी हुन्थे।
एक दिन तिनै कुर्सीमा बसेर सिटौलाले प्रचण्डलाई सम्झाए— यत्रो साहस गरेर हामीले शान्ति प्रक्रिया यहाँसम्म ल्याइपुर्याएका छौं। भोलि संविधान सभामार्फत मुलुकको नयाँ संविधान बन्छ। मुलुक शान्तिपूर्ण रूपमा गणतन्त्रमा जाने सम्भावना छ। तपाईं किन तरंगित भइरहनुहुन्छ । किन कहिले के कहिले भन्नुहुन्छ ।
प्रचण्डले पनि त्यो दिन मन खोलेर जवाफ फर्काए सिटौलाजी, म साँच्चै दोमनमा छु। मेरो एकमनले भन्छ, म त शान्ति प्रक्रियामा आइसकेँ, अब यही बाटो अघि बढ्ने हो। संविधान सभाबाट संविधान लेख्ने हो। शान्तिपूर्ण र लोकतान्त्रिक मार्गबाटै अघि बढ्ने हो। जनमतबाट स्वीकृत भएरै सत्तामा पुग्ने हो।
त्यसपछि उनले थपे,मैले त्यस्तो सोच्दै गरेको बेला फेरि राती दिमाग चकराउँछ। म झल्याँस्स हुन्छु। म त बिद्रोही हुँ। क्रान्तिकारी पो हुँ। यति धेरै मानिसहरू सहिद भएका छन्। क्रान्तिबाट राज्य सत्ता उल्टाउने, जनवाद ल्याउने सपनाको नेतृत्व मैले गरेको हुँ। संसदको भासमा पस्न हुँदैन। यो क्रान्ति बीचैमा छोड्न हुँदैन। यसलाई तुहिन दिन हुँदैन।
यी दुवै परस्पर विरोधी कुराको आँधी मनमा निरन्तर चलिरहँदा आफू अप्ठ्यारोमा परेको प्रचण्डले सिटौलालाई सुनाए। यसबाट बाहिर निस्किन कोशिस गरिरहेको बताए।
आफ्ना सहयोद्धा कमरेडहरूलाई भने उनले क्रान्ति जारी रहेको, मौका पारेर क्रान्ति सफल पार्ने कुरा भनिरहे। कांग्रेस, एमाले, अन्तर्राष्ट्रिय समुदायसँग शन्ति प्रक्रिया निष्कर्षमा पुर्याउने, लोकतान्त्रिक संविधान लेख्ने बाचा गरिरहे।
मौका छोपेर क्रान्ति सफल पार्ने ध्याउन्नमा उनले प्रधानसेनापति रूकमांगत कटुवाललाई बर्खास्त गरे। त्यो असफल भएपछि यति आत्तिए, गिरिजाप्रसादले ‘अहिले राजीनामा नगर्नुस्’ भनेर खबर पठाउँदा पनि आफ्नो ज्यान खतरामा परेको भन्दै राजीनामा गरे।
सत्ताबाट उत्रिएको केही समयपछि मुलुकभरिबाट मानिस ल्याएर काठमाडौं घेर्ने, सहर ठप्प पार्ने अनि शान्तिपूर्ण विद्रोहमार्फत कांग्रेस(एमालेलाई घुँडा टेकाउने योजनामा लागे। सहरका मुख्यमुख्य सडक(चोकमा माओवादी कार्यकर्ता बसाएर गरेको अनिश्चितकालीन बन्दले काठमाडौं सात दिन ठप्पजस्तै भयो। अन्ततस् हजारौं मानिस सडकमा उत्रिएर प्रतिवाद गरेपछि माओवादीको शान्तिपूर्ण विद्रोहको सपना तुहियो। त्यसले प्रचण्डको मनबाट क्रान्तिको धङधङी सधैंका लागि सेलाइदिने काम गर्यो।
शान्ति प्रक्रियामा आएपछि सुरूदेखि नै उनी लोकतन्त्र र प्रतिस्पर्धात्मक राजनीतिप्रति प्रतिबद्ध बनेका भए, आफ्ना नेता(कार्यकर्तालाई त्यसैका लागि शिक्षित गरेका भए आज माओवादी पार्टी अर्कै हुन्थ्यो। सायद नेपाली राजनीति अर्कै हुन्थ्यो।
तर दोमन सधैंभरि नै प्रचण्डको ‘ट्रेडमार्क’ हो। यो सधैं चलिरहन्छ। चउरको एउटा कुनोमा बसेपछि उनलाई अर्को कुनो पो हरियो छ, राम्रो छ भन्ने लाग्छ। त्यो पो मेरा लागि प्रिय थियो, ठीक थियो भन्ने लाग्छ। अनि उनी कुनो सर्छन्। फेरि त्यहाँबाट पहिलेकै कुनो ठीक थियो भन्ने लाग्छ। कांग्रेससँग बसे एमाले ठीक लाग्छ, एमालेसँग बसे कांग्रेस!
मुलुकका लागि कैयन महत्त्वपूर्ण मुद्दामा पनि उनलाई त्यही लाग्छ। आज एमसिसी ठीक लाग्छ। भोलि बेठीक लाग्छ। पर्सि फेरि ठीक लाग्छ। प्रचण्डको यो ‘दोमन’ कति प्राकृतिक हो, कति कृत्रिम र आफ्नै स्वार्थका लागि उत्पादित हो, त्यो यकिन छैन। तर उनी सधैं दोमनमा सवार छन्। वा दोमनको सिकार छन्।
कोसँग मिलेर सरकार बनाउने भन्नेमा आजका दिनमा पनि प्रचण्ड फेरि तीव्र दोमनमा छन्। तर उनको खुबी के हो भने, यो दोमनले उनलाई कज्याउँदैन। उनी केही सोच्न नसक्ने, गर्न नसक्ने बन्दैनन्।
उनी त थप गतिशील बन्छन्। दुवैतिर कुरा गर्छन्। दुवै सम्भावना पर्गेल्छन्। दुवै लड्डु जोख्छन्।
सबभन्दा चाखलाग्दो कुरा, आफ्नो पार्टीभित्रै यसरी दुई ध्रुव बनाउँछन्, एउटालाई एउटा विकल्प ठीक भन्ने लाग्छ अर्कोलाई अर्को विकल्प ठीक लाग्छ। किनभने उनले दुवैसँग कुरा छुट्टाछुट्टै कुरा गरेर एउटालाई एउटा विकल्प ठीक भन्छन्, अर्कोलाई अर्कै। अनि दलभित्र उनले दुई ध्रुवमा बाँडेका मानिसलाई पनि लाग्छ, आफू ठीक छु। अनि हाम्रा अध्यक्ष पनि आफूसँगै छन्।
अहिले माओवादी केन्द्रमा कांग्रेससँग मिलेर सरकार बनाउने वा एमालेसँग मिलेर जाने भन्नेमा दुई समूह, दुई ध्रुव बनेका छन्।
अर्थमन्त्री जनार्दन शर्मा, शक्ति बस्नेत लगायत यही गठबन्धन कायम गर्नुपर्छ भन्नेमा छन्। जनार्दन शर्माले त बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक जना हुन्छन् भनेर सार्वजनिक रूपमै भनिसकेका छन्।
उनले यसो पनि भने, ‘पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो सुझाव छ।’
अर्कोतिर एमालेसँग मिल्नुपर्छ भन्ने ध्रुवको नेतृत्व वर्षमान पुन र नारायणकाजी श्रेष्ठले भनिरहेका छन्। प्रचण्डकै निर्देशनमा उनीहरू एमालेसँग वार्ता गरिरहेका छन्।
वर्षमान पुन नै प्रचण्ड पनि सैद्धान्तिक रूपमा सहमत हुनुहुन्छ, अरू कुरा मिलाउन पर्यो भन्दै अघि सरेपछि एमालेले नपत्याउने कुरा भएन। त्यसमाथि एमाले नेता विष्णु पौडेल स्वयंले पनि प्रचण्डसँग भेटेर कुरा गरेका छन्। पौडेललाई प्रचण्डले ‘हामी एमालेसँग नमिल्ने, अहिले कांग्रेससँगै मिलेर सरकार बनाउने’ भनेका छैनन्।
गठबन्धन दलको नेताका हैसियतले उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफैं कुरा गरिरहेका छन्। पहिलो चरणमा प्रधानमन्त्री आफूले पाउनु पर्ने दाबी गरिरहेका छन्। देउवालाई छुट्टै भेटेर जनार्दन शर्माले पहिलो चरणमा प्रचण्डले प्रधानमन्त्री नपाए कुरा बिग्रिन्छ भनेर सचेत गराइरहेका छन्। शर्मा यही गठबन्धन कायम रहनुपर्छ भन्नेमा छन्। कायम रहन्छ भन्नेमा विश्वस्त पनि छन्।
प्रचण्डले यसरी आफ्नै दलभित्र दुई ध्रुव खडा गरेर दुवैतिर कुरा गरेको यो पहिलो पटक होइन। यसमा उनले महारत प्राप्त गरेका छन्।
संविधान जारी भएलगत्तै २०७२ सालमा प्रचण्डकै प्रस्तावमा केपी ओली प्रधानमन्त्री बने। २०७४ मा चुनाव हुनुअघि दुई वर्षभित्र प्रधानमन्त्री बन्ने पालो आफ्नो पनि आओस् भन्ने प्रचण्डको चाहना थियो। ओलीले सुरूमा थाहै नपाएजस्तो गरे। पछि पनि कुरै सुनेनन्।
प्रचण्डले कृष्णबहादुर महरा र वर्षमान पुनलाई सुटुक्क कांग्रेससँग कुरा गर्न लगाए। उनीहरूले त्यो बेला देउवाका विश्वासपात्र विमलेन्द्र निधिसँग कुरा गरे। पछि रमेश लेखक पनि थपिए।
माओवादी केन्द्र ओली नेतृत्वको सरकारमै थियो। तर कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउने वक्तव्य जारी भयो। त्यो बेला विदेशमा रहेका माधव नेपाल स्वदेश फर्किएर प्रचण्डलाई थामथुम पारे। बजेट जारी भएपछि सरकारको नेतृत्व फेर्ने वचन दिलाए। त्यो बेला एमाले र माओवादी सँगै जानुपर्छ भन्ने पक्षमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा पनि थिए।
पछि प्रधानमन्त्री पाउने शर्तमा प्रचण्ड एमालेसँग सरकारमै बसे। कांग्रेससँगको वक्तव्य खेर गयो। बजेट पास भयो। तर ओली टसमस भएनन्। प्रचण्डलाई सरकार छाड्न मानेनन्। फेरि वर्षमान पुन र कृष्णबहादुर महराको पुरानो जोडीलाई सक्रिय बनाएर प्रचण्डले कांग्रेससँग कुरा मिलाए। कांग्रेस(माओवादी केन्द्रको सरकार बन्यो।
२०७४ को आम निर्वाचनअघि फेरि वाम गठबन्धनको कुरा आयो। माओवादी केन्द्र सरकारमै थियो। देउवाले पार्टीभित्रको विरोधका बाबजुद रेणु दाहाललाई भरतपुर नगरपालिकाको मेयरमा ठाउँ छाडिदिएका थिए। आसन्न आम निर्वाचनमा मिलेर जाने कुरा चल्दै थियो।
प्रचण्ड भने वाम गठबन्धनतिर आकर्षित भए। नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मालाई लगाएर गोप्य रूपमा कुरा अघि बढाए। यति गोप्य ढंगले वाम गठबन्धन र वाम एकताको कुरा चल्यो, प्रधानमन्त्री रहेका देउवाले त्यसको भेउ पनि पाएनन्।
२०७४ सालको दसैंको नवमीका साँझ प्रचण्डले देउवालाई गएर भने— एमालेले हामीलाई ४० प्रतिशत सिटमा छाडिदिन्छौं, वाम गठबन्धन गरौं भन्दैछ। कांग्रेसले ४० प्रतिशत दिने भए यतै बस्छौं।
प्रचण्ड उठेर गएपछि कांग्रेसका केही नेता देउवालाई भेट्न बालुवाटार पुगेका थिए। रिसले चुर देउवाले उनीहरूलाई छेवैको कुर्सी देखाउँदै भने— यही कुर्सीमा बसेर धम्क्याएर गयो। एमालेले ४० प्रतिशत सिट दिन्छु भनेको छ, कांग्रेसले दिने भए बस्छौं, नभए जान्छौं भन्यो। जाजा गइहाल भन्न मन थियो, तर रिस थामेँ भनिनँ !
निर्वाचनमा ४० प्रतिशत सिट कांग्रेसले दिने वचन देउवाले दिने कुनै सम्भावना रहेन। दसैं टीका सकिएपछि, द्वादशीका दिन, असोज १६ गते राती एमाले र कांग्रेसले वाम एकताको सहमति गरे। भोलिपल्ट सहमति सार्वजनिक भयो।
यसपालि पनि प्रचण्ड दुवै लड्डु जोख्दै छन्। कांग्रेसको लड्डु खाने कि एमालेको लड्डु१
निर्वाचनअघिसम्म पनि कांग्रेससँगै मिलेर जानेमा प्रचण्डले मन बनाएका थिए। सत्ताको नेतृत्व आलोपालो हुन्छ भन्नेमा प्रचण्ड र देउवा दुवै प्रष्टै थिए। को पहिले प्रधानमन्त्री बन्ने भन्ने टुंगो थिएन। दुवैले त्यसबारे कुरा पनि गरेका थिएनन्। अर्थमन्त्री जनार्दन शर्माले भने दुवैले बसेर सरकारको नेतृत्वको टुंगो चुनावअघि नै लगाउनुपर्छ, नत्र पछि अप्ठयारो पर्छ भन्दै दुवै जनालाई सचेत गरेका थिए। त्यो बेला दुवैले हतारो देखाएनन्।
चुनावको परिणामले भने प्रचण्ड झस्किएका छन्।
प्रत्यक्षतर्फ ३० सिटसम्म आउन सक्छ भन्ने आशा गरेको माओवादी केन्द्रले १८ सिट मात्र ल्याएको छ। समानुपातिकतर्फ पनि साढे दुई प्रतिशत विन्दुभन्दा बढीले उसको मत घटेको छ। अहिले बढेका मतदाताको पनि हिसाब गर्दा माओवादीले यसपालि समानुपातिकमा अघिल्लोपटक प्राप्त गरेको मतको तुलनामा १८ प्रतिशत गुमाएको छ।
भोलि पार्टी कसरी जोगाउने भन्ने भविष्यको चिन्तासँगै प्रचण्डको तात्काल चिन्ता पनि छ— यसपालि पहिलो चरणमा प्रधानमन्त्री कसरी बन्ने
यति धैरै चोइटिएको संसद पाँच वर्षसम्म चल्छ वा चल्दैन भन्ने टुंगो छैन। त्यसैले पनि प्रचण्ड पहिलो चरणमै प्रधानमन्त्री बन्न चाहन्छन्। दोस्रो चरणमा आफूलाई देलान् वा नदेलान् भन्ने पिर छँदैछ!
एमालेसँग जारी वार्ताका धेरै कुरा बाहिर आएका छैनन्। तर एमालेले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री नदिने भन्ने हो भने त्यो वार्ता अघि नै बढ्दैन। एमालेसँग वार्ता जारी छ भन्नुको अर्थ एमाले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार छ। एमालेले प्रचण्डलाई अफर गर्न सक्ने अर्को कुरा पनि छ जुन कांग्रेसले गर्न सक्दैन— अर्को चुनावसम्ममा वाम एकता गर्ने। यसरी पार्टीको भविष्यको चिन्ता एमालेले मात्र दूर गर्न सक्छ।
हिजो पनि प्रचण्ड एमालेसँग मिलेकै हुन्। आलोपालो प्रधानमन्त्री बन्ने शर्त ओलीले लत्याएपछि एकीकृत नेकपामा सुरू भएको बबन्डर बढ्दै राजनीति यहाँसम्म आइपुगेको हो। आज पनि पहिलो चरणमा प्रधामन्त्री पाएपछि प्रचण्डलाई एमालेसँग मिल्न कुनै आइतबार चाहिँदैन। कांग्रेसले पहिलो चरणमै प्रधानमन्त्री दिन मान्यो भने अहिलेलाई कांग्रेससँगै बस्न सक्ने अर्को कारण भने छ। पहिलो चरणमा कांग्रेससँग मिलेर प्रधानमन्त्री खाने। जनताको म्यान्डेट मानेर गठबन्धन कायम राखेको पनि भयो। प्रचण्ड अस्थिर छन्, कुरा फेरिरहन्छन् भन्ने आरोप पनि तत्काललाई नआउने भयो।
दुई वा तीन वर्षपछि वाम एकता गरेर बाँकी अवधि पनि प्रधामन्त्री बन्ने। तर त्यसो गर्दा कांग्रेसलाई अहिले राष्ट्रपति र सभामुख पनि दिनुपर्ने हुन्छ। त्यसैले भोलि सत्ता परिवर्तन गर्न सजिलो हुँदैन। त्यसैले त्यतातिर लाग्न हुँदैन भन्ने तर्क पनि माओवादी केन्द्रको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई दुवै पनि कांग्रेससँगकै गठबन्धन नै कायम राख्नुपर्ने पक्षमा छन्। त्यसैले यही गठबन्धनमा बस्न प्रचण्डलाई जोड गरिरहेका छन्। एकीकृत समाजवादीभित्र भने कतिपय नेता एमालेमा फर्किनुपर्ने र कतिपय यही गठबन्धनमा बस्नुपर्नेमा विवादित छन्।
प्रचण्डले अन्तिममा के निर्णय गर्छन्, पार्टीभित्र पनि सायदै कसैलाई थाहा हुन्छ। उनले जे निर्णय गर्छन्, माओवादी केन्द्रले भने लतारिएर त्यही निर्णय मान्ने हो। अहिलेलाई भने प्रचण्डको ट्रेडमार्क दोमनले दुवै लड्डु हेर्दै मुख मिठ्याउँदै गर्दैछ।
वा उनी दोमनको आँधीबेहरीमा छन्। कांग्रेस नेता सिटौला अहिले पनि सहरको अर्को कुनामा बस्छन्। तर अहिले भने यो दोमनको आँधी ‘सेयर’ गर्ने गरीको मित्रता प्रचण्ड र सिटौलाबीच छैन।