काठमाडौं - पोखरा राइनोजले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए । यस्तै रित गौतमले १२ रन बनाए । ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो । वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियो । ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडे । नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए ।
पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए । सन्दीप जोरा सुन्य रनमा आउट हुँदा राशिद खान सुन्य रनमा अविजित रहे ।
ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए । बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए ।
यस जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।
पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।
ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो । अंक विहीन ललितपुर पुछारमा रहेको छ ।