काठमाडौँ- वर्षाका कारण नेपाल एसिया कपमा छनोट हुन असफल भएको छ । मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रोकिँदा नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो ।
नेपालले टस जितेर बलिङ रोजेपछि युएईले ८२ रनको लक्ष्य दिएको थियो । तर, पहिलो इनिङ्स सकिएलगत्तै भारी वर्षा भएको थियो । आजको खेलमा विजय भएको भए नेपाल एसिया कपमा छनोट हुने थियो ।
प्रतियोगितामा नेपाललाई उपाधि दाबेदार मानिएको थियो । यसअघि नेपालले खेलेका ४ मध्ये ३ खेलमा जित हासिल गरेको थियो । नेपालका अस्मिना कर्माचार्यले ५ विकेट लिएकी थिइन् ।
नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो । दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।