यसपटककाे बर्खामा बाढीपहिराेकाे जाेखिम बढी रहेकाे छ। मनसुन भित्रिनै लाग्दै बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले भने, 'मुख्यतः एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ। त्यसलाई केन्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य याजना अघि बढाएका छौँ।'
विगतको तथ्यङ्क विश्लेषणको आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो।
सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ ।
गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रुपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ।