“कलेजोको सिरोसिस भएपछि पहिलेकै अवस्थामा फर्किन्छु भन्ने लागेकै थिएन”, शाहीले भन्नुभयो, “अहिले नयाँ जीवन पाएको अनुभव गरेको छु ।” उहाँले स्वास्थ्य मात्रै राम्रो पाउनुभएको छैन, पूर्ववत् अवस्थामा नियमित काम गर्नसक्ने हुनु भएको छ । शाहीले भन्नुभयो, “मेरो पुनर्जन्म भएको छ । यो खालको जीवन पाउँला भन्ने सोचेको पनि थिइन् ।”
कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गर्नुभएका शाहीले अहिले फूर्तिलो मात्रै हुनुहुन्न, उहाँले गर्दै आउनुभएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आउनुभएको छ । जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महुसस गर्न छाड्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले मेरो स्वास्थ्य सोचेभन्दा धेरै राम्रो छ ।” पहिलेको जस्तै सक्रिय काम गर्ने बताउँदै उहाँले अगाडि थप्नुभयो, “म अहिले दिउँसो विद्यालयमा पढाउँछु, बिहान बेलुका घरमा व्यापार छ, श्रीमतीलाई व्यापारमा सघाउँछु । स्वास्थ्यका हिसाबले कुनै गारोसाह्रो परेको छैन ।”
कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ ‘फेन्ट’ (चक्कर) हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उहाँले सुनाउनुभयो । पेट फुलेर आफैँलाई लाज लाग्ने खालको भएको उहाँको भनाइ छ । उहाँको विसं २०७८ फागुनदेखि नै कलेजोमा समस्या देखिएको थियो । त्यसपछि भारतको लखनउ गएर तीन पटकसम्म परीक्षण गराउनुभएका शाहीले जाजरकोटबाट १५–१५ दिनमा लखनउ जानुपर्ने बाध्यता थियो । त्यहाँको चिकित्सकले ८० प्रतिशत कलेजो खराब भइसकेको र औषधि खायो भने निको हुन्छ भन्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ । गत वर्ष लकडाउन भएपछि भारत जान नसकेपछि उहाँ नेपालगञ्जको मेडिकल कलेजमा परीक्षण गराउनुभयो । त्यहाँको चिकित्सकले कलेजो खराब भइसकेको र प्रत्यारोपण ग¥यो भने बाँच्न सकिने नत्र बाँच्ने सम्भावना कम भएको बताएपछि उहाँ काठमाण्डौं हुँदै चितवन आइपुग्नुभएको थियो ।
काठमाडौँको टिचिङ अस्पतालमा केही समयसम्म परीक्षण गराएर छिटो प्रत्यारोपणका लागि उहाँ चितवन मेडिकल कलेजमा आइपुग्नुभएको हो । “प्रत्यारोपण गर्नुपूर्व कतै श्रीमान् श्रीमती दुवै जना अप्ठ्यारोमा पर्छाै कि ? वा एक जनालाई कुनै अप्ठ्यारो हुन्छ वा जटिलता आउँछ कि ? भन्ने डर लागिरहेको थियो”, उहाँले भन्नुभयो, “अरुको भन्दा पनि मेरो केस जटिल थियो । चिकित्सकले ९० प्रतिशत सफल हुन्छ, १० प्रतिशत फेल पनि हुनसक्छ भन्नुभएको थियो ।” आफूले जसरी भए पनि प्रत्यारोपण गरिदिनुहोस् भनेर चिकित्सकलाई अनुरोध गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी दुवै जना खुसी जीवन बिताइरहेका छौं ।” उहाँको प्रत्यारोपणपछि गाउँपालिकाले पाँच लाख उपचार खर्च दिने नियम नै बनाएको छ । सोहीअनुसार आफूले पनि रु पाँच लाख सहयोग पाएको उहाँले जानकारी दिनुभयो ।
साथीभाई, इष्टमित्रको सहयोगबाट खर्च जुटाएर कलेजो प्रत्यारोपण गराएको उहाँले बताउनुभयो । आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उहाँको योजना छ । कलेजो बिग्रिएकालाई समयमै प्रत्यारोपण गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “समयमै प्रत्यारोपण गरियो भने खर्च पनि कम हुन्छ । जीवन पनि सफल हुन्छ, बाच्न सकिन्छ । प्रत्यारोपण गर्न डर मान्यो भने खर्च उत्ति नै हुन्छ, परीक्षण गर्न गइरहनुपर्छ । औषधि खाइरहनु पर्छ ।” डा यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस हुनुपर्ने अवस्था छ, रगतमा प्लेटलेसको सङ्ख्या कम छ र ७० देखि ८० प्रतिशत कलेजो ड्यामेज (खराब) भइसकेको छ भने त्यस्ता व्यक्तिको ६ महिनादेखि २ वर्षको आयु हुन्छ”, त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरियो भने भरतविक्रम शाहीजस्तै सामान्य जीवनमा फर्किन सक्ने उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “स्वास्थ्य मात्रै सामान्य होइन, कि आफ्नो काम र पेसामा नियमित जान सकिन्छ ।” कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हालसम्म छ जनाको कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो । प्रत्यारोपणका लागि विदेश जानु नपर्ने भन्दै उहाँले विश्वका अन्य मुलुकमा भएका आधुनिक प्रविधि र उपकरणसहितको दक्ष चिकित्सक आफ्नो कलेजमा भएको दाबी गर्नुभयो ।