×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

फाल्गुन मसान्तसम्म कुन कुन लघुवित्तले गरे एकिकृत काराेवार

फाल्गुन मसान्तसम्म कुन कुन लघुवित्तले गरे एकिकृत काराेवार

बिश्वबन्धु भण्डारी - विभिन्न उदेश्यले देशभर स्थापना भएका लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने तथा गाभिने प्रक्रियामा सामेल हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि बिभिन्न निती तथा निर्देशनहरु जारी गर्दै गाभ्ने तथा गाभिने प्रक्रियालाई प्राथामिकता दिएसँगै धेरैजसो लघुवित्त वित्तीय संस्थाहरुले आपसमा गाभ्ने वा गाभिने सम्झौता गर्न थालेका छन् ।

केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने लघुवित्तलाई सहुलियत दिने घोषणा गरेयता लघुवित्त कम्पनीहरुमा मर्जरको लहर शुरु भएको हो । हालसम्म २९ वटा लघुवित्त वित्तीय संस्थाले आपसमा गाभिएर संयुक्त रुपमा कारोबार थालिसकेका छन् भने केहि लघुवित्त वित्तीय संस्था मर्जर वा गाभ्ने प्रकृयामा रहेका छन् ।

केन्द्रीय बैंकका अनुसार हाल “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको संख्या ६५ पुगेको छ । सोमध्ये आरएमडिसी लघुवित्त, साना किसान विकास लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्था गरी ४ वटा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था रहेका छन् भने बाँकी ६१ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् ।

२०७८ फाल्गुन मसान्तसम्म संयुक्त कारोबार गर्ने लघुवित्तहरु :  

२०७८ साल फाल्गुन मसान्त सम्ममा २९ वटा लघुवित्त वित्तीय संस्था आपसमा गाभ्ने या प्राप्ती गर्ने प्रक्रियामा सामेल भएका छन् । २०७६ असार ३० गतेदेखि साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्तलाई गाभेर साधनाकै नामबाट संयुक्त कारोबार सुरु गर्न थालेदेखि हालसम्म पनि लघुवित्तहरु एक आपसमा गाभिने र प्राप्ती गर्ने काममा सामेल हुदै एकिकृत कारोवार गर्न थालेका छन् ।

एनआरएन लघुवित्त, क्रियटिभ लघुवित्त र रामारोशन लघुवित्त आपसमा गाभिएर एनआरएन लघुवित्तको नामबाट २०७६ भदौ २४ गतेदेखि, वोमी लघुवित्त र नागरिक लघुवित्तले वोमी लघुवित्तको नामबाट २०७६ मंसिर ३० गतेदेखि संयुक्त कारोबार थालेका थिए । यता सारथी लघुवित्त र सत्यवति लघुवित्तले सारथी लघुवित्तको नामबाट २०७६ पौष ४ गतेदेखि एकिकृत कारोबार थालेको थियो भने कालिका लघुवित्त र जनसेवी लघुवित्तले कालिका लघुवित्तको नामबाट २०७६ पुस २३ गतेबाट संयुक्त कारोबार थालेका हुन् ।

सूर्योदय लघुवित्त र त्रिलोक लघुवित्तले सूर्योदयको नामबाट २०७६ फागुन १० गते, चौतारी लघुवित्त र आरम्भ लघुवित्तले २०७७ असार २२ गतेदेखि आरम्भ चौतारीको नामवाट, उन्नति र सहकार्य लघुवित्तले उन्नति सहकार्यको नामबाट २०७६ जेठ २८ गतेबाट एकिकृत कारोबार थालेको थियो । २०७७ साल असार ३१ गते देखि मिर्मीरे लघुवित्तले स्विडा लघुवित्तलाई प्राप्ती गरी मिर्मिरे लघुवित्तको नाममा एकिकृत कारोवार सुरु गरेको थियो भने स्मार्ट लघुवित्त र मनकामना लघुवित्त एकआपसमा गाभिएर २०७७ साउन २१ गतेदेखि,मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ती गरि २०७७ भदौ ७ गतेदेखि मिर्मिरे लघुवित्तको नाममा, जीवन बिकास लघुवित्त,गरिबी न्युनिकरण लघुवित्त र सल्भ लघुवित्त एकआपसमा गाभिएर जीवन विकासको नाममा २०७७ भदौ २२ गते देखि एकिकृत कारोवार सुरु गरेका हुन् ।

साथै नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त गाभिएर नयाँ सारथीको नाममा २०७७ असोज ५ गतेदेखि, समिट लघुवित्त र सजिलो लघुवित्त गाभिएर समिट लघुवित्तको नाममा २०७७ असोज ६ गतेदेखि,स्वरोजगार लघुवित्त र जनकपुर लघुवित्त २०७७ असोज २५ गतेदेखि स्वरोजगार लघुवित्तको नाममा, महुली लघुवित्त ले नवकिरण लघुवित्तलाई प्राप्ती गरि २०७७ मंसिर ८ गतेदेखि महुली लघुवित्तको नाममा एकिकृत कारोवार सुरु गरेका थिए ।

२०७७ मंसिर १६ गते जाल्पा लघुवित्त र महिला सामुदायिक लघुवित्त एकआपसमा गाभिएर जाल्पा सामुदायिक लघुवित्तको नाममा एकिकृत कारोवार सूरु गरेको थियो भने वोमी लघुवित्त र ग्रामिण स्वयंमसेवक लघुवित्त गाभिएर वोमी लघुवित्तको नाममा २०७७ चैत्र ३ गतेदेखि,एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त एकआपसमा गाभिएर एनआईसी एसिया लघुवित्तको नाममा २०७७ साल चैत्र ८ गतेदेखि,समता लघुवित्त र घरेलु लघुवित्त गाभिएर समता घरेलु लघुवित्तको नाममा २०७८ बैशाख २ गतेदखि एकिकृत कारोवार गर्न थालेका हुन् ।

ग्लोबल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गरि ग्लोबल आईएमई लघुवित्तको नाममा २०७८ साल बैशाख ८ गतेदेखि एकिकृत कारोवार सूरु गरेको थियो भने सिवाइसी लघुवित्तले शालिग्राम लघुवित्तलाई प्राप्त गरि सिवाइसी लघुवित्तको नाममा २०७८ असार २९ गते मंगलवारदेखि, नेशनल लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गरि नेशनल लघुवित्तको नाममा २०७८ असार ३० गतेदेखि,इन्फिनीटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्त गरि इन्फिनीटी लघुवित्तको नाममा २०७८ भदौ ५ गतेदेखि एकिकृत कारोवार सूरु गरेका थिए ।

साथै नेपाल सेवा लघुवित्त र विन लघुवित्त गाभिएर २०७८ कार्तिक १५ गतेदेखि विन नेपाल लघुवित्तको नाममा एकिकृत कारोवार सूरु गरेका हुन् भने आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्त गरि आरम्भ चौतारी लघुवित्तको नाममा २०७८ कार्तिक ३० गतेदेखि, युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्त गाभिएर युनिक नेपाल लघुवित्तको नाममा २०७८ पौष ३० गतेदेखि एकिकृत कारोवार सुरु गरेका हुन् ।

बनेपामा केन्द्रिय कार्यालय रहेका वोमी लघुवित्त र स्याङजा पुतलिबजारका केन्द्रिय कार्यालय रहेको सुर्योदय लघुुवित्तले भने आगामी चैत्र १९ गतेदेखि सुर्योदय वोमी लघुवित्तको नाममा एकिकृत कारोवार गर्ने गरि नेपाल राष्ट्र बैकवाट स्विकृत पाईसकेका छन् । 

गाभ्ने र गाभिने प्रक्रिया भाँडिएका लघुवित्तहरु :  
२०७७ साल असोज २१ गते विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेको थियो, तर एकाएक त्यो सम्झौता भाँडिएको छ । यता २०७७ बैशाख १ गतेवाट एकिकृत कारोवार गरि अगाडी बढ्ने सहमती गरेका आँधिखोला लघुवित्त र धौलागिरी लघुवित्तको मर्जर प्रक्रिया पनि एकाएक रोकिएको हो । मर्जर पछि संस्थाको अध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका इश्वरलाल राजभण्डारी रहने र संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आँधीखोला लघुवित्तका डोलराज केसी रहने गरि धौलागिरी आँधिखोला लघुवित्तको नाममा एकिकृत कारोवार गर्ने समझदारी भएपनि सम्झौता रद्द भएको हो ।  

मिर्मिरे लघुवित्तले श्रृजनशिल लघुवित्तलाइ प्राप्ती गरि एकिकृत कारोवार गर्ने सम्झौतामा हस्ताक्षर भएपनि  २ लघुवित्तको सम्झौता रद्द भएको छ । हाल दुबै लघुवित्तहरुले आ आप्नै तरिकाले कारोवार गरिरहेका छन् । मिर्मिरे लघुवित्तले केहि हप्ता अघि मात्रै बुद्धज्योती लघुवित्तलाई प्राप्ती गर्ने गरि अर्को सम्झौता गरिसकेको छ भने श्रृजनशिल लघुवित्त गाभिने र प्राप्ती प्रक्रियाका लागि उपयुक्त लघुवित्त खोजीरहेको छ । बनेपामा केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्तले बुटवलको देउराली लघुवित्त र बनेपाकै बिपीडब्लु लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेको थियो ।

देउरालीलाई प्राप्ती गरी एकिकृत कारोवार गरिसकेको आरम्भ चौतारी लघुवित्तले भने बिपिडब्लु सगँको प्राप्तीको काम एकाएक रोकिएको छ । त्यसैगरी, युनिक नेपाल लघुवित्तले बुद्धज्योति लघुवित्तलाई गाभ्ने सम्झौतामा हस्ताक्षर गरेको भएपनि उत्त प्रक्रिया भाँडिएको छ । केन्द्रिय बैंकले तोकेको पूँजी पुर्याउन नसकेका कारण पनि कतिपय लघुवित्त वित्तीय संस्थाहरु मर्जरमा जान बाध्य भएका छन् । ठूला लघुवित्त वित्तीय संस्थाहरुले भने साना लघुवित्तलाई गाभेर आफ्नो कार्यक्षत्र बढाउने र अझै मजबुत हुने प्रयास गरेका छन् ।

थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको चुक्ता पूँजी ६० करोड, राष्ट्रियस्तरको १० करोड, क्षेत्रीयस्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पूँजी १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ । लघुवित्तको सँख्या धेरै भएपछि केन्द्रिय बैंकले नयाँ लाइसेन्स रोकेरै लघुवित्तहरुलाई मर्जरमा जान प्रोत्साहन गर्न थालेको हो । अहिले लघुवित्त सञ्चालनको लागि नयाँ आवेदन बन्द भएको छ । लघुवित्त कम्पनीहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन गर्न पनि कठिन भएको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् ।


 

प्रतिकृया दिनुहोस्