काठमाडौं - नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाकाे निवेदन दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साे पदका लागि २५ पुसमा आवेदन खुला गरेकाे थियो । २४ पुसमा रिक्त भएकाे पदका लागि निवेदन दिने मिति माघ १६ गतेसम्म समय रहेकाे थियाे । आवेदन दिनेहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी, सक्तारुढ कांग्रेस निकटका व्यक्तिहरु रहेको जानकारी मन्त्रालयले दिएको छ । मन्त्रालयकाअनुसार जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठकले निवेदन दिएका छन् । यस्तै निगमको कार्यकारीकाे दौडमा कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द पनि छन् । भुपेन्द्रकुमार अर्याल र सन्जय कुमारले पनि सो पदमा आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
निवेदन दिने मध्य अधिकांशकाे नाम तीन वर्षअघि पनि परेकाे व्यक्तिहरु रहेको मन्त्रालयले जनाएकाे छ । त्यसबाहेक उद्योग विभागमा लामो समय महानिर्देशकका रुपमा रहेर निजामती सेवाबाट सेवानिवृत्त जीवनप्रकाश सिटौलाले निगमको कार्यकारी पदका लागि आवेदन दिएका छन् । कार्यकारी पदको खुल्ला प्रतिस्पर्धाका लागि आवेदन गर्नेहरुमा उनको नाम पहिलाे नम्बरमा रहेकाे छ । यस्तै, विशेष आर्थिक क्षेत्र सेजका बहालवाला कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट पनि निगमको कार्यकारीको दौडमा छन् । मन्त्रालयले निकालेको निवेदककाे सूचीमा उनको नाम ११ औं नम्बरमा रहेकाे छ । डा. लक्ष्मण पौडेल पुल्चोक इन्जिनियरिङ कलेजका प्रोफेसर हुन् भने चित्तरन्जन दास निगमका पूर्वकर्मचारी हुन् । यस्तै उमेश थानी नेपाल विद्युत प्राधिकरणका पूर्वसञ्चालक रहेका छन् ।