काठमाडौँ। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारद्वारा आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका छन्।
सरकारको निर्णयविरुद्ध कार्कीले बिहीबार सर्वोच्च अदालतमा पुनर्बहालीको मागसहित रिट निवेदन पेस गरेका हुन्। सर्वोच्च अदालत प्रशासनका अनुसार पेस गरिएको निवेदन हाल अध्ययनका क्रममा रहेको र त्यसलाई औपचारिक रूपमा दर्ता गर्ने वा नगर्ने (दरपीठ गर्ने) विषयमा शुक्रबार छलफल हुने जानकारी दिइएको छ।
यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारले बुधबार मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो। उक्त निर्णय असंवैधानिक र बिनाकारण गरिएको दाबी गर्दै कार्कीले कानुनी लडाइँ रोजेका हुन्।