काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बहस आजका लागि सकिएको छ । आज एक दर्जनभन्दा बढी अधिवक्ताले बहस गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी बहस आइतबारको इजलासमा हुने जानकारी दिनुभएको छ ।
विघटनसम्बन्धि मुद्दाको सुनुवाइ गर्न शुक्रबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, आनन्दमोहन भट्टराई, तेज बहादुर केसी र बम कुमार श्रेष्ठ सहभागी थिए ।
आज पहिलो दिन प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा निवेदकमध्येका एक अधिवक्ता सन्तोष भण्डारीले बहस गर्नुभएको थियो ।
सामान्य अवस्थामा बुधवार र शुक्रवार संवैधानिक इजलास बस्ने गरेकोमा विगतमा प्रतिनिधिसभा विघटनको सुनुवाइका क्रममा लगातार बसेको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिटको सुनुवाइ गर्न बिहीबार सर्वोच्चमा बहस सुरु भएको थियो । इजलासमा प्रधानन्यायाधीश जबराले निवेदन अध्ययन गरिसकेपछि बहस सुरु भएको थियो ।
बिहीबार अधिवक्ता दिनेश त्रिपाठीले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकिर गर्नुभएको थियो । अदालतको अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काटिनुपर्नेसमेत उहाँको माग थियो ।