काठमाडौं- धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन्। राई नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मत अन्तरले पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन्।
लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाए। यस्तै नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन्।
निर्वाचन आयोगका अनुसार उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने।
उपमेयरमा लौरो नै चिह्न पाएका दत्त कुमार लिम्बु भने ४ हजार १२९ मत पाएर पराजित बने। विजेता राई खानेपानीको मुद्दा लिएर धरानमा लगातार आन्दोलन गर्दै आएका थिए।