काठमाडौँ - झापा आन्दोलनका अगुवा तथा वरिष्ठ वामपन्थी नेता घनेन्द्र बस्नेतको गएराति दुःखद निधन भएपछि नेकपा (एमाले) ले आजका लागि तय गरेको केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम स्थगित गरेको छ।
पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार च्यासलस्थित केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे आयोजना गर्न लागिएको शपथ ग्रहण कार्यक्रम असोज १६ गते (भोलि) सोही समयका लागि सारिएको छ। एमालेको भर्खरै सम्पन्न बैठकले ३३ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका बस्नेतले पञ्चायतविरोधी आन्दोलनका क्रममा १७ वर्ष कठोर जेलजीवन बिताएका थिए। उनको निधनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पताल पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। बस्नेतको आजै पशुपति आर्यघाटमा विद्युतीय शवगृहमा दाहसंस्कार गरिने कार्यक्रम छ।