काठमाडाैँ, स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र मालोर्काले अपराजित यात्रा जारी राखेका छन् । घरेलु मैदान मेस्टालामा शुक्रबार भएको खेलमा भ्यालेन्सियाले डिर्पोटिभो अलाभेसलाई ३-० ले पराजित गर्दा अर्को खेलमा मालोर्काले स्पान्योललाई १-० ले पराजित गर्यो ।
जितसँगै भ्यालेन्सिया लिग अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । तीन खेलमा अपराजित भ्यालेन्सियाले सात अंक बनाएको छ। समान सात अंक बनाएको मालोर्का दोस्रो स्थानमा छ । भ्यालेन्सियासँग पराजित अलाभेस अंक बिहिन बन्दै तालिकाको अन्तिममा छ।दुई अंक बनाएको स्पान्योल १५औं स्थानमा छ । भ्यालेन्सियाले दबाबमा राखेको खेलमा ड्यानियल वास, कार्लास सोलेर र गोन्कालो गुइडेसले गोल गरे ।
शुक्रबारनै भएको अर्को खेलमा मालोर्काले स्पानियोललाई १-० ले पाखा लगायो । मालोर्काका लागि डानियल रोड्रिग्वेजले गरेको एकमात्र गोल निर्णायक बन्यो । डानियलले २७औं मिनेटमा स्पान्योलका डिफेन्सको कमजोरीमा गोल गरेका थिए ।
अन्तिम समयमा १० खेलाडीमा समेटिएको स्पान्योलले भने कुनै चमत्कार गर्न सकेन् । इन्जुरी समयमा सर्गी गोमेज सोझै रातो कार्ड पाउँदै बाहिरिएका थिए । ला लिगा अन्तर्गत शनिबार राति रियल म्याड्रिड र रियल बेटिस, लेभान्ते र रियल सोसिडाड, एथलेटिक बिल्बाओ र सेल्टाभिगो तथा सेभिया र इल्चेबीच प्रतिस्पर्धा हुनेछ ।