काठमाडौं - यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई २ सय ३० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको हो । नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाए । भिमले ७ चौका प्रहार गरेका थिए । आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्लले ३२ रनमा आउट भए ।
सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए । यूएईका लागि जुनेद सिद्धिकीले ३ तथा आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २/२ विकेट लिए ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जी.सीले मौका पाएका छन् ।
प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।