×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

कांग्रेस नेता पक्राउ : इजरायल पठाइदिने भन्दै १५६ युवाबाट २.५ करोड उठाएको आरोप

कांग्रेस नेता  पक्राउ : इजरायल पठाइदिने भन्दै १५६ युवाबाट २.५ करोड उठाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता भरत चौलागाईं पक्राउ परेका छन्। इजरायलमा रोजगारी दिलाइदिने भन्दै युवाबाट रकम उठाएको आरोपमा प्रहरीले चौलागाईंसँगै प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका सिवाकोटीलाई समेत पक्राउ गरेको हो । प्रहरीका अनुसार नेपाल सरकार र इजरायल सरकार बीचको G2G प्रक्रिया अन्तर्गत केयरगिभरका रूपमा इजरायल पठाउने भन्दै सरकारी छनोट प्रक्रियामा पर्न नसकेका व्यक्तिहरूलाई समेत आश्वासन दिइएको आरोप छ।

यसरी आश्वासनमा परेका १५६ जनाबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम उठाइएको र कुल रकम करिब २ करोड ५० लाख रुपैयाँ रहेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीको आरोप अनुसार प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गर्दै मन्त्रिपरिषवा ट निर्णय गराएर इजरायल पठाइदिने विश्वास दिलाइएको थियो । तर सरकारी प्रक्रियामा छनोट हुन नसकेका युवालाई दिइएको उक्त आश्वासन अनुसार रोजगारीको प्रक्रिया अघि नबढेपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले भरत चौलागाईं र बालिका सिवाकोटीलाई असोज १ गते पक्राउ गरेको जनाएको छ। दुवैविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्ति, रकमको कारोबार र प्रयोग भएका माध्यमबारे समेत अनुसन्धान जारी रहेको बताइएको छ।

यो प्रकरणमा अहिले मुख्य प्रश्न बनेको छ - १५६ युवाबाट उठाइएको करिब साढे २ करोड रुपैयाँ कहाँ पुग्यो ? सरकारी G2G प्रक्रियामा छनोट नभएकालाई इजरायल पठाइदिने आश्वासन कसरी दिइयो ? र राजनीतिक तथा सार्वजनिक पदसँग जोडिएको नाम र पहुँचको प्रयोग भएको आरोपमा वास्तविकता के हो ?

यी प्रश्नको जवाफ अनुसन्धानबाट खुल्नेछ। तर पक्राउ परेको आधारमा मात्र कसैलाई दोषी ठहर गर्न मिल्दैन। चौलागाईं र सिवाकोटीमाथि लागेको आरोपको अन्तिम टुंगो अदालतको प्रक्रियाबाट हुनेछ। यद्यपि, रोजगारीका लागि विदेश जाने आशामा रहेका युवाबाट लाखौँ रुपैयाँ उठाइएको यो प्रकरणले वैदेशिक रोजगारीको नाममा हुने ठगी र पहुँचको दुरुपयोगबारे गम्भीर प्रश्न भने खडा गरेको छ।

प्रतिकृया दिनुहोस्