काठमाडौं - गुल्मी र स्याङ्जा जोड्ने प्रमुख नाकाका रूपमा रहेको मिर्मी पुल कालीगण्डकी नदीमा आएको भीषण बाढीले बगाएको छ। कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका वडाध्यक्ष लालुप्रसाद पाण्डेका अनुसार शनिबार बिहान करिब ६ बजे आएको बाढीले पुल बगाएपछि दुई जिल्लाबीचको प्रत्यक्ष सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
पुल बगेसँगै गुल्मीको सदरमुकाम तम्घासबाट मिर्मी हुँदै पोखरा र काठमाडौँतर्फ जाने मुख्य राजमार्ग अवरुद्ध भएको छ। बाढीका कारण कालीगण्डकी जलविद्युत् आयोजनाको ड्यामका तीनवटा ढोका खोलिए पनि पूर्तिघाटतर्फ पानीको बहाव अत्यन्त उच्च रहेको छ। बाढीले रिडी बजार, लामाचौरपारी र कालीगण्डकी करिडोरका विभिन्न भागहरू डुबानमा पारेको छ भने बगर क्षेत्रका पक्की संरचना, मन्दिर र घाटहरू जलमग्न भएका छन्। जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएकाले क्षति संकलनमा कठिन भइरहेको प्रहरीले जनाएको छ।