काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्।अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिता साथ काम नगर्दा पार्टीले विभाजन बेहोर्नु परेको बताएका हुन्। शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
नेता ओलीले पुष्पकमल दाहाललाई लक्षित गर्दै उनले प्रतिक्रियावादीसामु अर्पण गर्दा आफूलाई दुःखी बनाएको गुनासो पनि गरे। पार्टी एकताका बेला दिएको सिट संख्यालाई दाहालले चरम दूरुपयोग गरेको ओलीको आरोप छ।
‘हामीले प्रचण्डलाई लखेटेको होइन। प्रचण्डसँग त एकता नै गरिएको हो। तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नुभएन। एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन। र बेइमानपूर्ण ढंगले हट्नुभयो। एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दूरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्नुभयो। पार्टी अध्यक्षमाथि गम्भीर आरोपको पुलिन्दा बनाउनु भयो उहाँले। र ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरूले,’ अध्यक्ष ओलीले भने।
ओलीले सत्ताको चरम दूरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दाबी गरे।