काठमाडौं - नेपाल आइसिसी टि२० विश्वकप छनोट ए मा समूह बी बाट अपराजित रहँदै विजेता रुपमा सेमिफाइनलमा पुगेको छ । सोमबार नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडालाई ८ विकेटले हराउँदै टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुग्न एक कदम टाढा रहेको हो ।
नेपालले मंगलबार सेमिफाइनलमा युएईलाई पराजित गरे आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । ८१ रनको विजयी लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३७ बलमा ३ चौकासहित ३४ रनमा अविजित रहे ।
दीपेन्द्रसिंह ऐरी ३१ बलमा ३ चौकासहित २७ रनमा अविजित रहे । ओपनर आसिफ शेख १६ बलमा १ चौका र १ छक्कासहित १७ रनमा आउट भए । कुशल मल्ल गोन्डेन डक आउट भए ।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ टस जितेर पहिला ब्याटिङ थालेको क्यानडा १५ ओभरमा ८० रनमा अल आउट भएको थियो ।क्यानडाका १० औं नम्बरका ब्याटर डिलन हेलिगरले २२ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवाल १८ रनमा आउट भए ।
एक समय राम्रो सुरुवात गरेको क्यानडा ४.२ ओभरमा ३५–१ को अवस्थामा रहेको क्यानडाले बाँकी ९ विकेट मात्र १३ रनमा गुमाएपछि १०.१ ओभरमा ४८–९ को दयनिय अवस्थामा पुगेको थियो । अन्तिम विकेटका लागि डिलन र सलमान नजारले ३२ रनको साझेदारी गरेका थिए । सलमान १० रनमा आउट भए ।
तीव्र गतिका बलर कमलसिंह ऐरीलाई पहिलो ओभरको पाँचौं बलमा ओपनर म्याथ्यू स्पोर्सलाई फाइनल लेगमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराए । ओपनर स्पोर्स शून्यमा आउट भएपनि धालिवाल र रयान खान पठानले राम्रो सुरुवात दिलाएका थिए। कमलले नै कप्तान नवनित धालिवाललाई लोकेश बमबाट १८ रनमा क्याच गराए । कमलले पाँचौं ओभरको तेस्रो बलमा क्यानडाका प्रमुख ब्याटर धालिवाललाई पेभेलिएनको बाटो देखाए ।
उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यो समय क्यानडा ४.३ ओभरमा ३५–२ को अवस्थामा थियो । त्यसपछि क्यानडा विकेट लगातार एकपछि अर्को गुम्यो । ओपनर रयान खान पठान ११ बलमा १ चौका र १ छक्कासहित १४ रनमा रन आउट भए । छैटौैं ओभरको दोस्रो बलमा उनी रन आउट हुन पुगे । पठान रन आउट हुनु क्यानडालाई भारी पर्यो । त्यसपछि क्यानडाका ब्याटर क्रिजमा टिक्न सेकनन् ।
प्रमुख तीन विकेट पावर प्लेमा लिएपछि नेपालले सानदार सुरुवात गर्यो । यसै ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंह एक रनमा आसिफ शेखबाट क्याच आउट भए । अर्को ओभरको अन्तिम बलमा सन्दीपले हम्जा तारिकलाई १ रनमा एलबीडब्लू आउट गर्दा क्यानडा ४१–५ को संकट अवस्थामा पुगेको थियो । साद विन जाफर २ रनमा रन आउट भए । तल्लोक्रमका कलिम सना १, जुनैद सिद्दिक २, हम्जा तारिक १ रनमा आउट भए ।
सन्दीप लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो ।
नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता युएईसँग खेल्नेछ । उक्त खेल जितेमा फाइनलसँगै विश्वकपमा पुग्नेछ । अर्को सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । युएई समूह ए को उपविजेता रुपमा सेमिफाइनलमा पुगेको हो । युएईले आयरल्यान्डलाई १८ रन र जमर्नीलाई २४ रनले हराएको थियो । तर बहराइनसँग २ रनले पराजित हुन पुगेको थियो । दुबै सेमिफाइनल मंगलबार र फाइनल बिहीबार हुनेछ ।
योसँगै ग्लोबल छनोटको समुह बी को सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा ओमानले आयरल्याण्डसँग खेल्नेछ भने नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल मंगलबार अपरान्ह पाँने चार बजेबाट सुरु हुनेछ ।