काठमाडाैं- नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डकाे सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । महान्यायाधिवक्ता डा पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका-४ प्यूठानमा भएको थियो । उनी २५ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न छन् । उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा विद्यावारिधि गरेका छन् ।
महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सको सामाजिक अध्ययन संस्थानबाट २००७ बाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका छन् । उनले वातावरणीय कानुनमा स्नातक गरेका छन् ।
कानुनी अभ्यास र परामर्शका अतिरिक्त डा पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न छन् । उनले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गरेका थिए ।
डा पोखरेलले व्यवस्थापिका-संसद्का तत्कालीन सभामुख ओनसरी घर्तीको कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श पनि सेवा प्रदान गर्दै आएका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनका फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आएका पोखरेलले जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानुन, राजनीतिक अर्थव्यवस्था तथा विकासमा केन्द्रित रही काम गरेका छन् ।