काठमाडौं- पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ श्रीपुरपन्चगावामा शनिबार नेपाली सेनाले सञ्चालन गरेको शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका छन्। सेनाको श्रीजंग गणले सिञ्चालन निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय ५० जनाले सेवा लिएका छन्।
शनिबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा सखुवाप्रसौनी र पटेर्वा सुगौली गाउँपालिकाका साथै त्यस आसपासका गरी १० भन्दा बढी गाउँका स्थानीयले निःशुल्क उपचार पाएका छन्।
शिविरमा सबै रोगका बिरामीको स्वास्थ्य परीक्षण र ल्याब टेष्ट समेत गरि निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीले जानकारी दिए।
गरिबीका कारण सदरमुकाम वीरगन्जका सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनका लागि जान असमर्थ समुदायलाई लक्षित गरी सेनाले श्रीपुर पन्चगावामा बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए।
विगतको कुनै कालखण्डमा सेना र जनता बीचको दूरी बढेपनि अहिले भने परिस्थिति फेरिँदै गएको उनले बताए।
सेना र जनता बीचको सामिप्यता बढाउने उद्देश्यले पनि सेनाले गाउँमा शिविरको आयोजना गरेको अधिकारीले बताए।
उनले जनतासँग घुलमिल भएर सेना र जनता बीचको सम्बन्ध अझ सुमधुर बनाउने उद्देश्यले नै पछिल्ला दिनमा सेनाले सामाजिक सेवाका गतिविधि सञ्चालन गरिरहेको बताए।
यसअघि मध्यपूर्व पृतना हेड क्वाटरको निर्देशनमा सेनाका विभिन्न गणले महोतरी, रामेछाप र दोलखामा पनि यस्तै स्वास्थ्य शिविर आयोजना गरिसकेको र यस कार्यलाई अरु जिल्लामा पनि निरन्तरता दिने उनले बताए।