काठमाडाैँ - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई खाइपाई आएकाे मुख्यमन्त्रीकाे पद जाेगाउन निकै सकस परेकाे छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिएर पद जाेगाउन निकै सकस परेकाे हाे । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।
एक मत रहेको राप्रपाले तटस्थ रहने निर्णय गरेपछि शाहीलाई थप चुनौती बढेको छ । प्रदेश सभाकाे सबैभन्दा ठुलाे दल नेकपा एमालेले शाहीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विपनै जारी गरिसकेकाे छ भने ६ मत भएको काँग्रेसले अहिलेसम्म निर्णय गरेको छैन ।
४० सदस्यीय प्रदेशसभामा एमाले प्रवेश गरेका माओवादीका धर्मराज रेग्मी निलम्बित छन् । बाँकी ३९ मध्ये एमाले एक्लैको २० सांसद छन् । माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन २० सांसदको साथ चाहिन्छ । तर,एमालेबाहेक सबै एकातिर मिल्दा पनि १९ जना मात्र हुन्छ ।
राप्रपाले साथ छोडेको र एमालेले ह्विप लगाएको अवस्थामा मुख्यमन्त्री शाहीको सरकार जोगिने सम्भावना कमजोर बनेको छ ।