काठमाडौँ-सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको शेयरमा ३१ गुणा भन्दा बढी आवेदन परेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइतबार सम्ममा १७ लाख ५८ हजार ४५० आवेदकबाट २ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ५७० कित्ता शेयर माग गरेको छ ।यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३१.१३ गुणा बढी हो ।
कम्पनीले बिहीबार कार्तिक ४ गते देखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ ।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
सो शेयरमा सर्वसाधारणले भोलि कात्तिक ८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन । कम्पनीको शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।