×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

भ्रामक प्रचारप्रति एनआरएनए एनसीसी अमेरिकाको ध्यानाकर्षण र स्पष्टिकरण

भ्रामक प्रचारप्रति एनआरएनए एनसीसी अमेरिकाको ध्यानाकर्षण र स्पष्टिकरण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC USA) ले पछिल्लो समय संघको नाम, EIN, ठेगाना तथा फोन नम्बर दुरुपयोग गरी फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाहले सार्वजनिक गरेको आधिकारिक स्टाटस तथा प्रेस विज्ञप्तिमार्फत संघले नेपाल सरकारका माननीय युवा तथा खेलकुद मन्त्री बव्लु गुप्ताप्रति कुनै पनि प्रकारको मानहानी, अपमान वा मानव तस्करीजस्तो गम्भीर आरोप लगाइएको भन्ने प्रचार पूर्ण रूपमा असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पारेका छन्।

अध्यक्ष शाहका अनुसार संघ वा यसका कुनै पनि प्रतिनिधिबाट त्यस्तो अभिव्यक्ति नदिइएको स्पष्ट गर्दै, माननीय मन्त्री गुप्ता एक आशालाग्दो, ऊर्जाशील र प्रगतिशील युवा नेतृत्वकर्ता भएको उल्लेख गरिएको छ। यस विषयमा अनावश्यक मिडिया ट्रायल नगर्न र आधिकारिक प्रेस विज्ञप्ति ध्यानपूर्वक अध्ययन गर्न सबै सरोकारवालामा अनुरोध गरिएको छ।

त्यस्तै, अमेरिकामा केही समूहहरूले एनआरएनए एनसीसी अमेरिकाको EIN र संस्थागत विवरणको दुरुपयोग गर्दै संघलाई जानकारी नदिई कार्यक्रम आयोजना गरेको र नेपालबाट व्यक्तिहरू आमन्त्रण गरेको घटनासँग संस्थाको कुनै पनि प्रकारको संलग्नता नरहेको संघले पुनः स्पष्ट पारेको छ।

संघको आधिकारिक प्रेस विज्ञप्ति हिजो दिउँसो ३ बजे मात्र सार्वजनिक गरिएको भए पनि, त्यसअघि नै दुई दिनदेखि नक्कली निमन्त्रणा, मानव तस्करीसँग जोडेर प्रस्तुत गरिएका भ्रामक सामग्रीहरू विभिन्न सञ्चारमाध्यममा प्रचार भएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।

एनआरएनए एनसीसी अमेरिकाले आफूहरू नियमित रूपमा कर तिर्दै आएको, EIN मा संस्थाको नाम अद्यावधिक रहेको, साथै वेबसाइट र भवनसमेत संस्थाकै स्वामित्वमा रहेको जानकारी दिँदै, कुनै पनि कानुनी वा प्रशासनिक त्रुटि भए अमेरिकी कानुनअनुसार त्यसको पूर्ण जिम्मेवारी लिन तयार रहेको स्पष्ट गरेको छ।

संस्थाको पहिचान, कानुनी हैसियत र प्रतिष्ठाको संरक्षण गर्नु आफ्नो वैधानिक अधिकार भएको उल्लेख गर्दै, यस्तो संरक्षण सामान्य, कानुनी र संस्थागत अभ्यास भएको अध्यक्ष शाहले स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्