×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लेटाङ घटना : प्रहरीको गोली लागेका युवकको अवस्था पनि गम्भीर

लेटाङ घटना : प्रहरीको गोली लागेका युवकको अवस्था पनि गम्भीर

काठमाडाैँ- महिला प्रहरीको ज्यान गएको मोरङको लेटाङ घटनामा गोली लागेका एक युवकको पनि अवस्था गम्भीर छ । कुम, ढाड र हातमा गोली लागेका लेटाङ नगरपालिका-८ जाँतेका २० वर्षीय मिलन खड्काको विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटना सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिले आरोपी शिक्षकलाई प्रहरीको जिम्मा लगाउन ढिलाइ गर्दा हिंसात्मक घटना भएको हो । ‘घटना नियोजित नभएर अराजकहरूका कारण भएको हो । विद्यालय व्यवस्थापन समिति र स्थानीय जनप्रतिनिधिहरूले आरोपी शिक्षकलाई समयमै प्रहरीको जिम्मा लगाएको भए ज्यानै जानेसम्मको हिंसात्मक घटना हुने थिएन,’ उनले भने ।

होली खेल्ने क्रममा (४ फागुनमा) यौन दुर्व्यवहार गरेको भन्दै शिक्षक पौडेलमाथि कक्षा ६ मा अध्ययनरत छात्रा र आफन्तले विद्यालयमा उजुरी गरेका थिए । उजुरीअनुसार विद्यालय प्रशासनले व्यवस्थापन समितिको बैठक राखेर आरोपित शिक्षकलाई आत्मालोचना गर्न वा राजीनामा दिन आग्रह गरेको थियो । तर, उनले गल्ती नगरेको भन्दै दुवै सर्त अस्वीकार गरेका थिए ।

त्यसपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष र न्यायिक समिति संयोजक रहेकी उपमेयरको रोहवरमा मिलापत्र गराउने छलफल भएको थियो । यौन दुर्व्यवहारजस्तो घटनामा मिलापत्र गराउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका थिए । उक्त समूहले विद्यालय प्रांगणमा रहेका मोटरसाइकल र स्कुटर तथा कम्प्युटर ल्याबमा तोडफोड गरेको थियो ।

त्यसैवेला अर्को एक समूहले भने पहिले घटना छानबिन गरेर मात्र शिक्षकलाई प्रहरीको जिम्मा लगाउनुपर्ने आवाज उठाएको थियो । लामो समयसम्म विवाद भएर भिड थप आक्रोशित भएपछि मात्रै विद्यालय प्रशासनले प्रहरी बोलाएको थियो । दिउँसोतिर विद्यालय पुगेको प्रहरीले शिक्षकलाई बाहिर निकाल्न सकेन । साँझ परेपछि प्रहरीले स्थानीयलाई आ–आफ्नो घर लाग्न भन्दै शिक्षकलाई बाहिर निकालेर भ्यानमा हाल्ने प्रयास गरेपछि भिड थप आक्रोशित बनेको थियो ।

त्यसैक्रममा धारिलो हतियार प्रहार हुँदा प्रहरी जवान श्रेष्ठ घाइते भएकी थिइन् । प्रहरीले भिड नियन्त्रण लिन केही राउन्ड गोली र अश्रुग्यास प्रहार गरेको थियो । गोली लागेर युवक खड्का पनि घाइते भएका थिए । श्रेष्ठको राति अस्पतालमा मृत्यु भएको थियो भने खड्काको उपचार भइरहेको छ ।

सोमबार दिनभर कर्फ्यु लगाएर घरघरमा प्रहरीको स्क्रिनिङ
मोरङ प्रशासनले थप अप्रिय घटना हुन नदिन सोमबार बिहानैदेखि लेटाङ– ५ आसपासमा कर्फ्यु लगायो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लेटाङमा सुरक्षा व्यवस्था कडा पारेका छन् । तर, दिनभर उक्त क्षेत्र तनावग्रस्त नै रह्यो । प्रहरीले जवान श्रेष्ठको ज्यान लिनेलाई पक्राउ गर्न घर–घरमा खानतलासी गरेको छ । स्क्रिनिङका क्रममा प्रहरीले एक दर्शन युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

१२ फागुनमा लेटाङमै विद्यालयबाट घर फर्कँदै गरेकी १२ वर्षीया बालिकाको ६३ वर्षीय वृद्धले बलात्कारपछि हत्या गरेका थिए । उक्त घटनाको विरोधमा लेटाङवासीले चरणबद्ध प्रदर्शन गरेका थिए । त्यस्तै, मोरङकै सुन्दरहरैँचामा २८ फागुनमा १८ महिने बालिकालाई दुई दाजुभाइ मिलेर सामूहिक बलात्कार गरी हत्या गरेका थिए ।

यो घटनापछि पनि स्थानीय आन्दोलित भएका थिए । आरोपीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका स्थानीय ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा नै चलाएको थियो । यसले स्थानीय थप आक्रोशित बनेका थिए । त्यसअघि पनि मोरङमा बलात्कारका शृंखलाबद्ध घटना भएका थिए । –नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस्