×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्र धाउनुपर्दैन : गृहमन्त्री लामिछाने

अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्र धाउनुपर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुनपर्ने बताएका छन् ।

सिंहदरवारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी)सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीको मूल्याङ्कन गरेर नेतृत्व चयन हुने बताए ।

उनले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताए । गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना संठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराए । गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको थियो ।

गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रूपमा लिने गरिएको भए पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताका हितमा काम गर्न निर्देशन दिए । उनले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिए । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उनले सधैँ पीडितको पक्षमा उभिन आग्रह गरे ।

कसैको प्रभाव वा दबाबमा नपरी नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिए । मन्त्री लामिछानेले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्रभावित हुन नदिने अडानमा आफू रहेको बताए ।

उनले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरुवा भएका डिआइजीसँग आग्रह गरे ।

प्रतिकृया दिनुहोस्