काठमाडाैँ- आसन्न सङ्घीय निर्वाचनमा काठमाडाैँ क्षेत्र नं. ६ बाट उम्मेदवारी दिने घाेषणा गरेका अब्दुस मियाँले नीति निर्माण तहमा युवा नेतृत्वकाे खडेरी लाग्ने गरेकाे बताएका छन् । यही अवस्थालाई सुधार्न र नेतृत्व लिन आफूले उम्मेदवारी दिन लागेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘आसन्न निर्वाचनमार्फत् प्रतिनिधि सभामा युवा नीति निर्माताका रूपमा उपस्थिति जनाउनुपर्ने भएकाले मैले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने निर्णय लिएको हुँ । हालसम्मको अवस्था हेर्दा संसद्लगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाहरूकाे खडेरी परेको प्रष्ट देखिन्छ ।’
पछिल्लो ५ वर्षमा आफूलगायतका युवाहरूले वैकल्पिक राजनीतिमा लागेपनि त्यहाँबाट अपेक्षाकृत नतिजा प्राप्त नभएकाे निष्कर्ष निकाल्दै मियाँले भनेका छन्, ‘वैकल्पिक शक्ति निर्माणको दायित्व र औचित्य सकिएको छैन । निर्वाचनपश्चात् बृहत् वैकल्पिक शक्तिको पुनर्गठनमा मेरो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्नेछु ।’ मियाँले असार ११ गते आधिकारिकरूपमा उम्मेदवारी घाेषणा गर्दैछन् ।