काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका छन् । ‘दुःख, मेहनत, त्याग र तपस्या जे जे गरेर हुन्छ राम्रो गर्नुपर्छ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो ।
मध्य पहाडी लोक मार्गदेखि उत्तर-दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ’ उनले भने ।
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूसँग आइतबार सरकारी निवास बालुवाटारमा भएको भेटमा उनले उज्यालो नेपालजस्ता विकास कार्यक्रम माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको धारणा थियो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
उनले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीको आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने धारणा राखे ।