×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

मातृभूमिको पीडामा जापानबाट कांग्रेसको साथ, बाढी पहिरो पीडितका लागि १० लाख सहयोग

मातृभूमिको पीडामा जापानबाट कांग्रेसको साथ, बाढी पहिरो पीडितका लागि १० लाख सहयोग

टोकियो । मातृभूमिमा बाढीपहिरोले विनाश मच्चाइरहँदा त्यसको पीडा हजारौँ किलोमिटर टाढा जापानमा रहेका नेपालीको मनसम्म पुगेको छ। विपत्तिमा परेका परिवारको आँसु पुछ्न नेपाली जनसम्पर्क समिति जापानले राहत सहयोगको हात अघि बढाउँदै १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै समितिले प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आह्वान तथा परिपत्रअनुसार सञ्चालन गरिएको उक्त अभियानबाट रु. १० लाख (दश लाख रुपैयाँ) संकलन भएको समितिले जनाएको छ। सङ्कलित रकम नेपाली कांग्रेसद्वारा स्थापित ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मा जम्मा गरिएको हो।

समितिका कोषाध्यक्ष यम कँडेलको संयोजकत्वमा सञ्चालित अभियानमा संस्थाका पदाधिकारी, सदस्य, क्रियाशील सदस्य तथा नेपाली कांग्रेसमा आबद्ध नेता कार्यकर्ताहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए।

समितिका अनुसार पार्टीको केन्द्रीय निर्णय तथा संस्थागत प्रक्रियाअनुसार विभिन्न तह, निकाय तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त हुने सहयोग नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा सङ्कलन गरिनेछ। त्यसपछि पार्टीका तर्फबाट एकमुष्ट रूपमा उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिनेछ।

विपत्तिको समयमा सहयोगको रकमभन्दा ठूलो कुरा त्यसले दिने भरोसा हो। जापानमा रहेका नेपालीहरूले आफ्नो दैनिक व्यस्तता र व्यक्तिगत जिम्मेवारीबीचबाट जुटाएको यो सहयोग बाढी–पहिरोबाट प्रभावित परिवारका लागि आफूहरू एक्लो नरहेको अनुभूति दिलाउने प्रयास भएको समितिले जनाएको छ।

मानवीय अभियानमा स्वेच्छापूर्वक सहयोग गर्ने नेपाली जनसम्पर्क समिति जापानका सम्पूर्ण पदाधिकारी, सदस्य, क्रियाशील सदस्य, नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा सहयोगी महानुभावहरूप्रति समितिले हार्दिक आभार व्यक्त गरेको छ।

यसैबीच, प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति समितिले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित तथा विस्थापित नागरिकको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा पनि समितिले जोड दिएको छ।

मातृभूमिमा परेको विपत्तिले भौगोलिक दूरीको सीमा मानेन, न त प्रवासी नेपालीको मनले नै दूरीलाई बाधा बनायो। पीडामा परेको नेपाललाई जापानबाट नेपाली जनसम्पर्क समिति जापानले १० लाख रुपैयाँको साथ दिएको छ।

प्रतिकृया दिनुहोस्