काठमाडौं - जेठ १४ वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) मा सहायक श्रमिक (केयरगिभर) का रूपमा २३ सय जना नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराउने भएको छ। विभागले बुधबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो।
नेपाल र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता (G2G मोडल) अनुसार सरकारी संयन्त्रमार्फत नै यी कामदारहरू इजरायल पठाइने विभागले स्पष्ट पारेको छ।
६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष लगिने, १ हजार तत्काल प्रस्थान गर्ने
विभागका अनुसार कुल माग संख्या २३ सय मध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष श्रमिक छनोट हुनेछन्। आवेदन परेका योग्य उम्मेदवारहरूमध्ये प्राविधिक प्रक्रिया पूरा गरी अन्तिम छनोट भने 'लक्की ड्र' (गोलाप्रथा) मार्फत गरिनेछ। यसरी छनोट भएकामध्ये पहिलो चरणमा १ हजार जनालाई तत्कालै इजरायल पठाइने विभागको तयारी छ।
छनोट भएका सहायक श्रमिकहरूले इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा जुनसुकै उमेर समूहका गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिहरूको हेरचाह र स्याहारसम्बन्धी कार्य गर्नुपर्नेछ। श्रमिकहरूको सुरुवाती करार अवधि ५ वर्षको रहने जनाइएको छ।
न्यूनतम योग्यता र आवश्यक सर्तहरू
यस रोजगारीमा आवेदन दिनका लागि निम्न बमोजिमको योग्यता तोकिएको छ:
उमेर र शारीरिक तौल: २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र न्यूनतम ४५ किलोग्राम तौल भएको हुनुपर्ने।
शैक्षिक योग्यता: कक्षा १० उत्तीर्ण गरी अनमी (ANM) वा सिएमए (CMA) सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको, अथवा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङ सम्बन्धी कम्तीमा ३ महिनाको (Img) तालिम लिएको हुनुपर्ने।
भाषागत दक्षता: इजरायल सरकारले तोकेको अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। भाषा परीक्षा सञ्चालनका लागि 'सिन इन्टरनेशनल क्वालिफिकेशन प्रालि' लाई जिम्मेवारी तोकिएको छ।
लागत र आम्दानीको विवरण
इजरायल जाने केयरगिभरको मासिक न्यूनतम तलब ६ हजार ४ सय ४३ इजरायली मुद्रा (करिब ३ लाख ४७ हजार नेपाली रुपैयाँ) तोकिएको छ। यद्यपि, त्यहाँ रहँदा आवश्यक पर्ने खाना र आवासको खर्च भने श्रमिक आफैंले बेहोर्नुपर्ने हुन्छ। विभागका अनुसार इजरायल प्रस्थान गर्दा लाग्ने सम्पूर्ण लागत शुल्क (हवाई टिकट, स्वास्थ्य परीक्षण लगायत) श्रमिक स्वयंको हुनेछ।
सन् २०२२ को अगस्ट महिनादेखि इजरायलले नेपालबाट संस्थागत रूपमा केयरगिभर लैजान सुरु गरेको हो। सुरुवाती चरणमा सीमित संख्यामा मात्र नेपाली श्रमिक लगिएकोमा, पछिल्लो समय इजरायलमा कार्यशक्तिको अभाव चुलिँदै गएपछि नेपाली श्रमिकहरूको माग र क्षेत्र विस्तार हुँदै गएको वैदेशिक रोजगार विभागले जनाएको छ। इच्छुक उम्मेदवारहरूले आगामी असार ७ गतेभित्र विभागको तोकिएको प्रणालीमार्फत आवेदन दिइसक्नुपर्नेछ।