×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसम पूर्वानुमान विश्वसनीय बनाउन मन्त्री भुसालको आग्रह

मौसम पूर्वानुमान विश्वसनीय बनाउन मन्त्री भुसालको आग्रह

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेका छन् । बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको निरीक्षण गर्ने क्रममा उनले समान उद्देश्य रहेका संस्थासँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्ने बताइन् ।

विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भएता पनि नेपालजस्ता साना मुलुकमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ छ । उनले भू–क्षय, बाढीपहिरोजस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताइन् ।

‘बाढी तथा पहिरोको असर हामीले झेलिरेका छौँ,’ उनले भनिन्, ‘यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जलधनको क्षति भएको छ ।’ उनले मौसमजन्य विपत्तीबाट जनताको जीवनरक्षा गर्ने तथा हुन सक्ने असरलाई न्यूनीकरण गर्न सूचना प्रवाह महत्वपूर्ण रहेको र त्यसका लागि विभागले चैबीसै घण्टा काम गर्दै आएकोमा खुसी व्यक्ति गरिन् ।

मन्त्री भुसालले सङ्गठन पुनःसरचना गरेर अगाडि बढ्नका लागि सूचना प्रविधि(आइटी)सम्बन्धी दरवन्दी समयाअनूकुल बनाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले स्वीकृत कार्ययोजनाअनुसार छिटो र छरितो आफ्ना लक्ष्य पूरा गर्न निर्देशन दिए । सो अवसरमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले विभागका गतिविधिबारे विस्तृत जानकारी गराएका थिए ।

 

प्रतिकृया दिनुहोस्