×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘आफ्नै उम्मेदवार हराउन माओवादीमा रकम लेनदेन’

‘आफ्नै उम्मेदवार हराउन माओवादीमा रकम लेनदेन’

काठमाडौं- माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले विपक्षी पार्टीका उम्मेदारसँग मोटो रकमको ‘लेनदेन’ गरेर आफ्ना पार्टीको उम्मेदवारलाई पराजित गराएको निष्कर्ष छानबिन टोलीले निकालेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाट भएको घातअन्तर्घात छानबिन गर्न माओवादीले टोली गठन गरेको थियो। उक्त टोलीका संयोजक टंक राईले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ। राईले अध्यक्ष दाहाललाई प्रतिवेदन बुझाउँदै पार्टीको अनुशासनको बाँध भत्काउनेहरूलाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ।

अध्यक्ष दाहालले घात गर्नेहरूलाई पार्टीबाट निष्काशनसम्मको कडा कारबाही हुने बताएका छन्। केन्द्रीय कमिटीको बैठकबाट अनुशासन विभागका अध्यक्ष टंक राई संयोजक रहेको छानबिन समितिमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य थिए। केन्द्रीय कमिटीको बैठकमा नेताहरूले स्थानीय तहको चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही हुनुपर्ने माग उठेको थियो।

‘पार्टी र समग्र कम्युनिस्ट आन्दोलनलाई केन्द्रमा राखेर व्यक्तिका चाहना, सोचलाई प्राथमिकता नदिईकन छानबिन गरेका छौं। समग्र पार्टीलाई फलामे अनुशासनमा बाँध्ने गरि छानबिन गरेर प्रतिवेदन तयार गरेर बुझाएका छौं’,राईले भने, ‘समस्याको जटिलता, मौसमको प्रतिकूलता, स्रोतसाधनको सीमितताका करण कतिपय अध्यनहरू अझै पूर्ण भएको छैन।’

५ सय जनासँग सोधपुछ

छानबिन समितिले झण्डै ५ सय जनासँग कुराकानी गरेर तथ्य, प्रमाणसहित १२० पृष्ठ लामो प्रतिवेदन अध्यक्ष दालहाललाई बुझाएको थियो। पार्टीमा आन्तरिक संवाद कम हुनु, उपयुक्त व्यक्तिले टिकट नपाउनु, टिकट वितरणमा पर्याप्त अध्ययनको जस्ता कमजारीले अन्तर्घात भएको प्रतिवेदनमा निष्कर्ष छ।

राईका अनुसार महोत्तरी, सिरहा, बर्दियालगायतका जिल्लामा नेता तथा कार्यकर्ताबाट बढी अन्तर्घात भएको देखिएको छ। त्यहाँ स्थलगतरूपमै पुगेर छानबिन गरिएको छ। ‘घातअन्तर्घात गरेको प्रमाणको रूपमा हामीले अडियो, भिडियो, साक्षी, र कागजी प्रमाण संकलन गरेर प्रतिवेदन बुझाएका छौं’, राईले भने, ‘पार्टीका सदस्य, मतदाता, स्वतन्त्र व्यक्तिहरूसँग हामीले छुट्टाछुट्टै र सामूहिक कुरा गरेका थियौं।’ उजुरी परेका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पनि सफाईको मौका दिइएको उनले बताए।

छानबिन टोलीमा सबैभन्दा धेरै मधेसका  जिल्लाबाट उजुरी परेको थियो। ‘सिरहामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ६ वटा स्थानीय तहमा विजयी भएका थिए। त्यसमध्ये एउटा पालिकामा मात्रै जित्यौं पाँचवटामा पराजय व्यहोर्‍यौं,’ संयोजक राईले भने, ‘महोत्तरीमा चार पालिका जित्ने अपेक्षा गरिए पनि एउटा पनि जित्न सकिएन।’

महोत्तरीमा स्थानीय तहमा तीन पालिकामा माओवादी विजयी भएको उनले बताए। बर्दियामा अघिल्लो स्थानीय तहको निर्वाचनमा चारवटा पालिका जितेको थियो। तर, हालैको चुनावमा एउटामा सीमित भयो। यी सबै विषय राखेर प्रतिवेदनमा हारको कारण औंल्याएको राईले बताए।

‘पार्टीभित्र एकजुट भएर लाग्न नसकेका कारण हार व्यहोर्नुपरेको निष्कर्ष निकालिएको छ’, उनले भने, ‘आग्रह पुर्वाग्रहहरू पनि देखियो। मूलतः पार्टीमा आन्तरिक संवाद एकदम कम रहेको पाइयो ।’

‘कारबाही गर्न कठोर बन्छौं’

प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले राम्रो गर्नेलाई प्रोत्साहित गर्ने र अनुशासन तोडेर अराजकतातिर जानेहरूलाई दण्डित गर्ने यो प्रक्रिया अगाडि बढाउने बताए। छानबिन प्रतिवेदनलाई पदाधिकारी बैठकमा पेस गरेर दोषी उपर छानबिन समितिले गरेको सिफारिसअनुसारको कारबाही हुने अध्यक्ष दाहालले बताए । 

‘हामीले गरेको काम हाम्रो पार्टीका लागि मात्रै होइन यो विधि प्रक्रियाले अरू पार्टीहरूलाई पनि केही न केही म्यासेज दिन्छ’, उनले भने, ‘देशमा, राजनीतिलाई सही ढंगले अगाडि बढाउन, राजनीतिमा हुने गरेका विचलन, विसंगति, विकृतिहरूलाई नियन्त्रण गर्ने प्रक्रियामा यो प्रतिवेदन कार्यान्वयनले प्रेरणा दिने छ।’ छिटै पदाधिकारीको बैठक बोलाएर प्रतिवेदन उपर छलफल हुने पार्टीका उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए। प्रतिवेदनमा दिएको सुझावलाई कार्यान्वयन गरिने उपमहासचिव हरिबोल गजुरेलले नेता तथा कार्यकर्तालाई विश्वास दिलाए । अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिकृया दिनुहोस्