काठमाडौँ- विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी जारी भएको छ । सोमबार परीक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको राहदानी विभाग त्रिपुरेश्वरले जनाएको छ ।
विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी हो । विभागका अनुसार सोमबारदेखि विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कतारले बुकिङ्ग खुला गरेको छ । सुरुमा एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ ।
अन्य खाडी मुलुकहरु र मलेसियामा रहेका नेपाली नियोगहरुमा विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा सुरु हुने छ ।
त्यस्तै, यी बाहेका अन्य मुलुकहरुमा रहेका सबै नेपाली नियोगहरुमा उपकरणहरू पठाउने कार्य भइ रहेको र केही हप्ता भित्र सेवा सञ्चालन गर्ने कार्यक्रम छ ।
नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको छ ।
अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरिरहेको छ ।