एमालेको आन्तरिक विवाद बढिरहेको बेला नेताहरु हात हालाहालको अवस्थामा पुगेका छन् । सुदूरपश्चिममा सोमबार साँझ एमालेका नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटीको सचिव राजेन्द्र रावलले आफूमाथि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले कार्यकक्षभित्रै कुटपिट गरेको बताएका छन् ।
मंगलबार नेकपा माओवादीका नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले बिहान ९ बजे संसद्मा विश्वासको मत लिने कार्यक्रम छ । पार्टीको केन्द्रीय निर्देशन अनुसार मुख्यमन्त्रीको विपक्षमा मत जाहेर गर्ने आशयको पत्र बुझाउन सोडारीको कार्यकक्ष पुगेपछि आक्रमण गरेको उनले बताए ।
नेकपा एमाले स्थायी कमिटीको सातौं बैठकले २०७८ जेठ १० को निर्णय अनुसार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई तल्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको थियो ।
सोही निर्णयको पत्र बुझाउन गएका सचिव रावललाई मन्त्रीले कुटपिट गरेका हुन् । उनले भने, म भित्र पसेर मन्त्रीज्यू नमस्कार१ हजुरसँग केही कुरा गर्नुछ भनेँ । उहाँले कुर्सीबाट उठेर सीधै मलाई झम्टिनु भयो । मेरो घाँटीमा समात्नु भयो ।
उनले मन्त्रीले अर्मायादित काम गरेको र मन्त्रालय र मन्त्री पदको मर्यादा सोचेर केही नबोलेको बताए । उनले भने, मैले केही गरिनँ। सीसी क्यामेरामा हेरे हुन्छ । तर, उहाँको बोली व्यवहार सबै अभद्र थियो । सीसीटीभी क्यामेरामा मेरो कुनै गल्ती देखिए म जस्तो सुकै सजाय भोग्न तयार छु । मन्त्री जस्तो व्यक्ति पदको मर्यादा र गरिमा भन्ने चिज हुनुपर्छ नि । म अब उहाँविरुद्ध कानुनी उपचार खोज्ने छु। आजै अदालत जाँदैछु ।