काठमाडौँ- केन्याविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले सुरुआतमा बलिङ गरिरहेको छ । केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एक दिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एक दिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एक दिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । टी-ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको केन्याविरुद्ध नेपाललाई सहज भने हुने छैन ।
केन्याविरुद्धको एक दिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् । नेपालले घरेलु टोलीसँगको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।
नेपालको प्लेईङ-११
अर्जुन साउद,आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, वसिर अहमद र साहब आलम