काठमाडाैँ- नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको हाे ।
प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गरेकाे छन् । यस्तै बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन् । एक सदस्यकाअनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि मतदान प्रारम्भ हुनेछ ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ । निर्वाचनमा ९,७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा ५,७०० र उपत्यका बाहिर ३,५०० रहेका छन् । सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ ।