काठमाडौँ- नेपाली कांग्रेसको महत्त्वपूर्ण भातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा पार्टीले दुजाङ शेपालाई मनोनयन गरे पश्चात् अब बन्ने केन्द्रीय समितिमा महामन्त्रीको आकांक्षीहरूको चर्चा चल्न थालेको छ । कांग्रेसको मेरुदण्ड मानिने भातृ संघ नेविसंघको महामन्त्री पदमा धेरै विद्यार्थी नेताले दाबी गरेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले अब बन्ने तदर्थ समितिमा ३२ वर्षको उमेर हदबन्दी लागू गर्ने निर्णय गरेको थियो । नजिकै आएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेसले यथाशीघ्र नेपाल विद्यार्थी संघको समितिलाई पूर्णता दिने तयारी गरेको छ ।
प्लेन समिति ल्याउने तयारी गरेता पनि विद्यार्थी नेताहरूको दबाब र संघको १२ औँ महाधिवेशन सम्पन्न गर्नको लागि समितिमा अनुभवी नेताहरूको पनि सहभागिता आवश्यकता रहेकोले पूर्ण समिति ल्याउने कुरामा पार्टीका नेताहरू सकारात्मक रहेका छन् । महामन्त्री पदमा पूर्व केन्द्रीय सदस्य पूजन गन्धर्व, प्रेम शाही,गीता गुरुङ र प्रेमिका राना मगर लगायत नेताहरूको दाबी रहेको छ ।
मुख्य दाबेदार मानिएका चारै जना संघको ११ औँ महाधिवेशन बाट निर्वाचित केन्द्रीय सदस्यहरू हुन् । शाही र गुरुङ संस्थापन पक्षका निकट हुन भने, गन्धर्व र राना संस्थापन इतर समूहका हुन् । गन्धर्व पूर्व महामन्त्री डा सशांक कोइराला निकट छन् भने राना सभापतिका प्रत्याशी डा शेखर कोइराला निकट छिन् ।
अध्यक्ष कै बलियो दाबेदार मानिएको शाही र गुरुङ अध्यक्षमा दुजाङ शेर्पा चयन भएपछि महामन्त्री बन्ने सम्भावना रहेको बुझिन्छ । युवा विद्यार्थी माझ लोकप्रिय सोलुखुम्बु की गुरुङ नेपाली काँग्रेस प्रदेश न १ को सदस्य पनि रहेकी छन्, शाही कर्णाली प्रदेश दैलेखका हुन् । इलाम की राना पार्टी की महाधिवेशन प्रतिनिधि पनि हुन् ।
तनहुँका गन्धर्व सामाजिक विकृति, विसंगति र पार्टी भित्रको अलोकतान्त्रिक गतिविधि बारे पार्टी नेतृत्व प्रति नै कडा प्रहार गर्ने स्पष्ट वक्ताको रूपमा विद्यार्थीहरू माझ लोकप्रिय छन् । विधानले २ ओटा महामन्त्रीको व्यवस्था गरे पनि सबै समूहको नेताहरू समेट्न पर्ने परिस्थितिमा नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघमा बहुसङ्ख्यक महामन्त्रीहरू चयन गर्दै आएको छ ।