×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित

काठमाडौं , । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० सहज जित हात पारेको छ ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । अन्जनको यो जारी विश्वकप छनोटमा तेस्रो गोल हो ।

२२ औं मिनेटमा सुनिलले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रयास निकै फितलो रहयो । २४ औं मिनेटमा अन्जनले लेफ्ट विंगमा दुई डिफेन्सलाई बिट गर्दै पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोलरक्षक शिनले बचाए । ३२ औं मिनेटमा कर्नरमा आएको रिबाउन्डलाई सुनिलले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आशिष लामाको स्थानमा मनिष डाँगीलाई मैदान प्रवेश गराएका थिए । ५२ औं मिनेटमा मनिष नै अबध भएको आक्रमणमा सन्तोषले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको ६६ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिर ताइपेइले प्राप्त फ्रिकिक वालमा लाग्दा नेपालको अग्रता कायम रहयो ।

बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे । अन्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमा नै गोलमा परिणत गर्दै नेपाललाई २-० ले अघि बढाएका थिए । यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिकृया दिनुहोस्