काठमाडौँ– दिनभर तीव्र उतारचढाव देखिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दिउँसो एक सवा एक बजेपछि लगातार ओरालो लागेर कारोबार बन्द हुँदा ०.२७ अंकले बढेर २,९४७.६९ बिन्दूमा आइपुगेको छ । बजारमा सामान्य नाफा बुक गरेर बेच्ने चाप देखिएको हुँदा कारोबार अवधिको पहिलो आधा समय बढ्ने घट्ने क्रम देखिएपनि अन्तिम समयमा भने बिक्री गर्ने बढेका छन् । यसको अर्थ बजारप्रति लगानीकर्ताको विश्वास मजबुत देखिदैंन ।
सोमबार अजोड इन्स्यारेन्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ भने अन्य दुई कम्पनीहरू मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । सेयर कारोबार भएका २२६ कम्पनीमध्ये १०२ ओटाको सेयर मूल्य घट्या भने ७६ ओटा कम्पनीको सेयर मूल्य बढेको छ । ७ कम्पनीको कारोबार मूल्यमा कुनै परिवर्तन भएन ।
सेयरबजारमा प्रभुत्व भएको बैंकिङ्ग समूहको परिसूचक ०.८६ प्रतिशत अर्थात् १६.८१ अंकले बढेकाले बजार ऋणात्मक हुनबाट भने जोगियो । जलविद्युत्, म्यानुफ्याक्चरिङ्ग र प्रडक्सन, निफ्रा र नेपाल टेलिकम समेतको सेयर सूचीकृत रहेको अन्य समूह, लघुवित्त, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूहका परिसूचक ऋणात्मक बनेका छन् ।
सोमबार अरुण भ्याली हाइड्रो, युनाइटेड मोदी हाइड्रो, नेशनल हाइड्रो, नबिल बैंक र अपि पावर कम्पनीको सबैभन्दा ठूलो कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ८ लाख ६८ हजार ८० कित्ता सेयर ६१ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ भने युनाइटेड मोदीको ७ लाख ८४ हजार १५ कित्ता र नेशनल हाइड्रोको ७ लाख १८ हजार ६ सय ८७ कित्ता सेयर क्रमशः ४७ करोड ५७ लाख र ३४ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार नेप्सेमा २२६ कम्पनीको ९ अर्ब २९ करोड रुपैयाँ मूल्यका १ करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर ९३ हजार दुई सय १८ कारोबारबाट खरिद–बिक्री भएको छ ।