काठमाडौँ- त्रिकोणात्मक टी-ट्वेन्टी शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मलेसियाको सामना गर्दा नेपाल शतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ ।
दिउँसो साढे १२ बजे सुरु हुने खेलमा मलेसिया भने निकै दबाबमा हुनेछ । आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट वञ्चित हुनेछ । नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ ।
नेपालले मलेसियालाई हराएमा पपुवा न्यु गिनी(पीएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । पीएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।
दोस्रो स्थानको पीएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ । नेपालले पीएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियालाई एक खेलमा पराजित गरेको थियो ।